Main News

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा पेशी

हिमालय टिभी
२०७७ पुष ३ गते १३:०७
सभामुख सापकोटाविरुद्धको मुद्दामा आज संवैधानिक इजलासमा पेशी

३ पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र संवैधानिक परिषद्को विवाद र अन्तरसंघर्ष चलिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा पेशी तोकिएको हो ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । २०६२ वैशाख १६ मा अपहरणमा परेका लामाको हत्या भएको थियो ।

साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । तर प्रहरीले जाहेरी लिएको थिएन।

त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २०६४ साल फागुन २२ मा सर्वोच्चले आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेपछि पूर्णिमाया फेरि सर्वोच्च जानुभएको थियो ।

सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ ।

यसअघि सापकोटा सभामुख बन्ने बेलामा पनि मुद्दामा संवैधानिक इजलासमा पेशी तोकिएको थियो । सापकोटा सभामुख हुन अयोग्य भन्दै अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो । रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले सापकोटा सभामुख भइसकेकाले अन्तरिम आदेश जारी गरिराख्नु नपर्ने आदेश गरेको थियो ।

काभ्रे जिल्ला अदालतमा हालसम्म सापकोटाविरुद्ध कर्तव्य ज्यानको मुद्दा परेको छैन । जिल्ला प्रहरी कार्यालयले द्वन्द्वका यस्ता घटना सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइ त्यस्तैमार्फत निरुपण हुने भन्दै २०६४ असार २६ मा जाहेरी लिन अस्वीकार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *