नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने

३ पुस २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ ।
कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध गरेको छ ।
महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सुचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उधृत गर्दै अरब टाइम्सले जनाएको छ ।
कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुँदै १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।
यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् ।
कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।
प्रतिक्रिया