Political Hightlights

नेकपा स्थायी कमिटी पुस ५ र केन्द्रीय कमिटी बैठक १० गते बस्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १ गते १८:५३
नेकपा स्थायी कमिटी पुस ५ र केन्द्रीय कमिटी बैठक १० गते बस्ने (भिडियोसहित)

१ पुस २०७७ काठमाडौं । अध्यादेशमार्फत संविधान संशोधन गर्ने कदमबाट प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पछि हट्नुभएको छ । पार्टी भित्रैको अर्को पक्षले अध्यादेश असफल पार्ने गरी संसदको विशेष अधिवेशन बोलाउन हस्ताक्षर संकलन गरेपछि ओली अध्यादेश फिर्ता लिन तयार हुनुभएको हो ।

अध्यादेश फिर्ता लिने वा नलिने र विशेष अधिवेशन बोलाउन गरिएको हस्ताक्षर संकलन गरिएको विषयमा ओली र प्रचण्ड नेपाल पक्षबीच लामै रस्साकस्सी चल्यो । जसले गर्दा बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको बैठक ४ बजे मात्र सुरु भएको थियो ।

बुधवार एकै दिन एक पटक फोनमार्फत र दुईपटक भेटेरै ओली प्रचण्डबीच छलफल भएपछि अध्यादेश फिर्ता र अधिवेशन मागको विषय फिर्ता लिने सहमति भएको हो । दुई अध्यक्षबीचको सहमतिलाई स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ।

प्रधानमन्त्री ओलीले एकलौटी ढंगले अध्यादेश ल्याएकै दिन बसेको संवैधानिक परिषद्को बैठकले केही सिफारिस गरेका कुरा पनि बाहिरिएका थिए । तर स्थायी कमिटीको बैठकमा कुनै पनि आयोगमा कसैलाई सिफारिस नगरिएको प्रधानमन्त्री ओलीले जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कुनै पनि हालतमा पेलेर अगाडि बढ्ने रणनीतिमा लागेका प्रधानमन्त्री ओलीका लागि आजको बैठकमा कुनै ठोस सफलता हात नपरेपनि तत्कालका लागि आफू विरुद्ध उठेका कदम मत्थर पार्न भने सक्नुभएको छ ।

तर हिजो अध्यादेश ल्याएर आज फिर्ता लिन तयार हुने ओलीको निर्णयले प्रधानमन्त्री ओली र अध्यादेश जारी गर्ने राष्टपति विद्यादेवी भण्डारीमाथि गम्भीर नैतिक प्रश्न खडा गरेको छ ।

ओलीले किन अध्यादेश ल्याउनु भएको थियो र किन फिर्ता लिनु भयो भन्ने जवाफ त दिनुभएको छैन, तर अध्यादेश जस्तो विरलै प्रयोग गर्नुपर्ने विषयलाई प्रधानमन्त्रीले राजनीतिक दाउपेचको हतियार बनाएको र त्यसमा राष्टपति नराम्रोसँग प्रयोग भएको पुष्टि भएको छ ।

बैठकले स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने निर्णय गरेको छ । यस्तै पुस ५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक पुस १० गते बस्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्