उखु किसानको आन्दोलनमा विपक्षी कांग्रेस र जसपाको ऐक्यबद्धता

३० मंसिर, २०७७ काठमाडौं । उखु किसानको आन्दोलनमा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले पनि ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौंको माइतीघरमा धर्नामा बसेका किसानलाई भेटेर कांग्रेस र जसपाका नेताहरुले ऐक्यबद्धता जनाएका हुन् । माइतीघर पुगेका नेताहरु किसानसँगै धर्नामा बसेका थिए ।
धर्नामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अहिले सरकारमा बस्नेले कमिसन चिन्ने तर किसानलाई नचिन्ने गरेको आरोप लगाउनुभयो ।
यस्तै जसपा नेता नवराज सुवेदीले किसानको भुक्तानी छिटो भन्दा छिटो नभए देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिनुभयो ।
उखुको पैसा माग्न आएका किसानलाई सरकारले विचौलिया देखेको भन्दै नेताहरुले सरकारको आलोचना पनि गरेका छन् । उद्योगीहरुले उखुबाट उत्पादन भएको चिनी बेचेर ठेक्कापट्टाका लागि लिएको ऋण तिरेको तर आफूहरुको भुक्तानी नगरेको किसानको आरोप छ ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबारयता काठमाडौंको माइतीघरमा आएर आन्दोलन गरिरहेका छन् ।
प्रतिक्रिया