राजनीति

कहाँ कस्तो भयो कांग्रेसको प्रदर्शन ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २९ गते २०:२९
कहाँ कस्तो भयो कांग्रेसको प्रदर्शन ? (भिडियोसहित)

२९ मंसिर, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भनेर चर्को आलोचना व्यहोरिरहेको नेपाली कांग्रेस आज सडकमा उत्रिएको छ ।

कांग्रेसले सरकारको विरोध गर्दै आज ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ । धेरै पछि सडकमा उत्रिएका कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए । नेताहरु पनि भ्रष्टाचार लगायतका विषय निकालेर विशेषगरी प्रधानमन्त्री केपी ओलीमाथि खनिएका छन् ।

पुल उद्घाटन गर्न जाँदा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार भएपछि नेपाली कांग्रेसले देशव्यापी प्रदर्शनको घोषणा गरेको थियो । सोहि अनुसार आज देशभर नै प्रदर्शन गरिएको छ । विरोधसभामा सहभागि हुन सभापति शेरबहादुर देउवा हेटौडा पुग्नुभयो ।

मुख्य शहर मात्र नभइ दुर्गम क्षेत्रमा पनि उल्लेख्य रुपमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिएका थिए । प्रदर्शनकारीले सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको जस्ता आरोप लगाउँदै विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।

काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा पनि प्रदर्शन भएका छन् । काठमाडौंको शान्ति बाटिका, ललितपुरको लगनखेल भक्तपुरको सुर्यविनायकमा पनि यसरी कांग्रेस कार्यकर्ता सडकमा उत्रिएका थिए ।

कोरोना महामारीबीच प्रदर्शनमा उत्रिएको कांग्रेसले कोरोना नियन्त्रणमा सरकारले लापरवाही गरेको आरोप लगाएको छ । कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसंग कुनै योजना नभएको पनि नेताहरुले आरोप लगाएका थिए ।

विरोध सभा अघि स्थानीय तहबाट जुलुस निकालेर कांग्रेस कार्यकर्ता जिल्ला सदरमुकाममा भेला भएका थिए । विराटनगर पोखरा, चितवन, जनकपुर, झापा लगायतका स्थानमा भएका विरोध सभामा कांग्रेसका शिर्ष नेता सहभागी भएका थिए ।

सरकारलाई खवरदारी गर्नु प्रमुख प्रतिपक्षीको धर्म मानिन्छ । तर लामो समयसम्म पनि कांग्रेस सुतेको भन्दै आलोचना भइरहेको छ । आफ्ना वरिष्ठ नेता पक्राउ परेपछि बल्ल कांग्रेस सडकमा उत्रिएको छ । सोमबारको प्रदर्शलाई सांकेतिक भनेको कांग्रेसले अब सडक नछाड्ने बताएको छ । यद्यपी उसले विरोधका थप कार्यक्रम भने घोषणा गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्