Main News

स्वास्थ्य सामग्री खरिदमा अनियमितताः स्वास्थ्यमन्त्रीसँग लेखा समितिले छलफल गर्ने (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर २६ गते १७:५९
स्वास्थ्य सामग्री खरिदमा अनियमितताः स्वास्थ्यमन्त्रीसँग लेखा समितिले छलफल गर्ने (भिडियोसहित)

२६ मंसिर, २०७७ काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेनामार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो ।

त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो । समितिले यसअघिका बैठकमा पनि मन्त्रालयले खरिद प्रक्रिया पुरा नगरिकन ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री खरिद गर्न लागेको भन्दै अध्ययन शुरु गरेको थियो ।

तर लामो समय बैठक नै नबस्दा यो विषयमा समितिले छलफल गर्न सकेको थिएन । अबको बैठकमा भने स्वास्थ्य मन्त्री ढकाललाई नै बोलाएर छलफल गर्ने तयारी समितिले गरेको हो ।

यस्तै समितिको बैठक लामो समय नबस्दा उजुरीको संख्या पनि बढेको छ । अहिलेसम्म एक दर्जन बढी उजुरी परेको पनि सचिव पाण्डेले बताउनुभयो । विशेष गरी सार्वजनिक खरिद ऐन कार्यान्वयन गर्ने शिलशिलामा भएका अनियमितताका कुराहरुलाई लिएर उजुरी परेको छ । सडक निर्माण, विद्युत प्राधिकरणमार्फत हुने ठेक्काको विषय लगायतका विषयमा उजरी परेको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सम्बन्धमा उपसमितिले अध्ययन गरेको विषयमा समेत आगामी बैठकमा छलफल गर्ने तयारी गरिएको पनि पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *