Main News

डोटी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते

हिमालय टिभी
२०७७ मंसिर २१ गते ८:५९
डोटी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते

२१ मंसिर, २०७७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

राति १ बजेतिर भएको दुर्घटनामा परेर ३ जनाको घटना स्थलमै र एक जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको जिप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ का मञ्जु त्रिपाठी, उहाँका सासू आमा, उहाँका तीन वर्षका छोरा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका–४ चनेकेसैन निवासी कृषि प्राविधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उहाँका श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट र चालक कैलाश बम घाइते भएका हुनुभएको छ ।

जीप भिरबाट करिब २०० मिटर तल खसेको छ । घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरेका थिए । दिपायलबाट खत्याडीका लागि हिडेको जीप दुर्घटना भएको हो ।

घाइतेहरूलाई दिपायल पठाइएको घटनास्थलमा उद्धारमा खटिनुभएका बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले जानकारी दिनुभयो ।

दुर्घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वको टोली गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । चालक निदाएकाले जीप दुर्घटनामा परेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *