बजेट खर्च र राजस्व संकलन प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

हिमालय टिभी
२०७७ मंसिर १५ गते १७:१५
बजेट खर्च र राजस्व संकलन प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

१५ मंसिर, २०७७ धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बजेट खर्च र राजस्व संकलनमा प्रभावकारी काम गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ ।

चालु आर्थिक वर्ष २०७७–०७८ को पहिलो चौमासिकमा बजेट कार्यान्वयनको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले बजेट कार्यान्वयनमा प्रभावकारी काम गर्न निर्देशन दिनुभएको हो । सबै मन्त्रालयको कार्यप्रगति हेरेपछि मुख्यमन्त्री भट्टले जनअपेक्षा अनुसारका काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल बजेटको ६ दशमलव २९ प्रतिशत अर्थात २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।

यस्तै राजस्व संकलन तर्फ कुल लक्ष्यको ६४ दशमलव ४५ प्रतिशतले बढी राजस्व संकलन भएको छ । सुदूरपश्चिम प्रदेश सभा सचिवालयले सबैभन्दा बढी र आर्थिक मामिला तथा योजना मन्त्रालयले सबै भन्दा कम खर्च गरेको छ ।

प्रदेश सभा सचिवालयले १९ दशमलव ५१ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १ दशमलव २९ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले शुन्य दशमलव ८१ प्रतिशत खर्च गरेका छन् ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले ७ दशमलव ४५ प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४ दशमलव २९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ दशमलव २५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले ८ दशमलव ०८ र वित्तीय हस्तान्तरण स्थानीय तहले ८ दशमलव ५१ प्रतिशत खर्च गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *