Political Hightlights

नेकपा उपाध्यक्ष गौतमको निशानामा किन परे महासचिव पौडेल ?

हिमालय टिभी
२०७७ मंसिर १४ गते १५:०७
नेकपा उपाध्यक्ष गौतमको निशानामा किन परे महासचिव पौडेल ?

१४ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले महासचिव विष्णुप्रसाद पौडेलको भूमिकाप्रति चर्को असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

पार्टीमा बैठक नबस्दा समस्या आएको र महासचिव पौडेलले बैठक बस्न हुन्न भन्ने अध्यक्ष केपी शर्मा ओलीको विचारलाई साथ दिएको भन्दै गौतमले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

पार्टीभित्र विवाद समाधानका लागि भूमिका खेल्ने नेताका रुपमा परिचय बनाएका महासचिव पौडेलकै भूमिकामाथि गौतमले विज्ञप्ति नै निकालेर प्रश्न उठाउनुभएको छ ।

बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक बस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाइने गौतमले प्रष्ट पार्नुभएको छ ।

उपाध्यक्ष क. वामदेव गौतमको धारणा
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।
वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।
पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।
बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पुर्याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।
सञ्चारकर्मी मित्रहरु,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मिति २०७७ मंसिर १३ गते सम्पन्न सचिवालय बैठकमा पार्टीका उपाध्यक्ष क.वामदेव गौतमले निम्नअनुसारको धारणा प्रस्तुत गर्नुभएको व्यहोरा सूचित गरिन्छ । यी धारणालाई यहाँहरुको अनकूलताअनुसार प्रयोग गर्नुहुने विश्वास लिइएको छ ।
विश्वमणि सुवेदी
क. वामदेव गौतमको प्रेस संयोजक
मिति– २०७७।०८।१४

पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी बैठक बस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँग परामर्श गरी बैठक बोलाउनुपर्ने गौतमको मत छ ।

महासचिव पौडेलप्रति आक्रोश व्यक्त गर्दै गौतमका तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले निकालेको विज्ञप्तिमा भनिएको छ–यस्ता व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्‍याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो। ’

बैठक बस्नु हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुनेमा पनि गौतमले जोड दिनुभएको छ । हिजोको सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राखेको भन्दै गौतमले दुवै अध्यक्षलाई धन्यवाद दिनुभएको छ ।

पार्टी बाहिर छरिएका विचारहरु हिजोको सचिवालय बैठकपछि पार्टीमा भित्रिएको र चाहेमा समस्या समाधान गर्न सकिने पनि गौतमको धारणा छ ।

पार्टीको जीवन कमिटी बैठक र बैठकहरुको जीवन छलफलमा हुने भन्दै गौतमले बैठक बस्न शुरु गर्दासाथ पार्टीमा पूनर्जीवन शुरु हुने पनि उल्लेख गर्नुभएको छ । महासचिवको भूमिकाप्रति असन्तुष्टि जनाएका गौतमले हिजोको बैठक बसाल्न वातावरण बनाउने सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्