Main News

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काठमाडौंमा भेटघाटमा व्यस्त

हिमालय टिभी
२०७७ मंसिर १४ गते १३:०५
चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काठमाडौंमा भेटघाटमा व्यस्त

१४ मंसिर, २०७७ काठमाडौं । चीनका रक्षा मन्त्री वेई फेङ् हे एक दिने भ्रमणका लागि आज काठमाडौं आउनु भएको छ ।

रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान काठमाडौं आइपुग्नुभएको हो । चिनियाँ रक्षामन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा लगायतको टोलीले स्वागत गर्यो ।

विमानस्थलमा चिनियाँ रक्षामन्त्री वेईले यसअघि उच्च तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको जानकारी दिनुभयो ।

पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउनु भ्रमणको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा चिनियाँ रक्षामन्त्रीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्दै हुनुहुन्छ ।

रक्षामन्त्री वेईको भ्रमणका क्रममा नेपालले कोभिड नाइन्टिन का कारण प्रभावित भएको तालिम र विद्यार्थी आदानप्रदान शुरु गर्ने प्रस्ताव राख्नेछ ।

त्यस्तै, तीन वर्षअघि थालिएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुरु गर्ने प्रस्ताव राख्ने तयारी छ ।

रक्षामन्त्री वेई कोभिड नाइन्टिनको महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ। रक्षामन्त्री वेईले बालुवाटारमा आजै प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुनेछ ।

उहाँ आजै काठमाडौंबाट बंगलादेश जानुहुनेछ । उपप्रधानमन्त्री एवं तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले ०७५ कात्तिकमा चीनको गरी भ्रमणको निम्तो दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *