Main News

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले जनाए यस्तो प्रतिबद्धता

हिमालय टिभी
२०७७ मंसिर १४ गते ७:१६
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले जनाए यस्तो प्रतिबद्धता

१४ मंसिर, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल बिजयी हुनुभएको छ ।

उद्योग वाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियट तर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभएको छ ।

महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याउनुभएको थियो । त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मत मध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाउनुभएको थियो ।

त्यसैगरी ६० जना कार्यकारणी सदस्य निर्वाचित हुनुभएको छ । निजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो । आइतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अध्यक्षबाहेकका पदमा शनिबार मतदान भएको थियो ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै वरिष्ठ उपाध्यक्ष ढकालले आफुले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जित भनेको व्यवसायीको जित भएको बताउनुभयो । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफुले प्यानल तोडेर व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो “मैले योभन्दा पहिला पनि भनेको थिएँ । हामीहरुको पक्षविपक्ष भनेको १३ गते साँझसम्म मात्रै हो । आजदेखि हाम्रो पक्षविपक्षभन्दा पनि सम्पूर्ण निजी क्षेत्रको आवाज उठाउने हो । निर्वाचित हामी सबैले व्यवयासीका सम्बन्धमा एउटै आवाज उठाउनेछौ भन्ने जानकारी गराउन चाहन्छु । निजी क्षेत्रले नियमनकारी निकायसंग गर्ने एड्भोकेसी हामीले गर्नेछौ । मेरो जित भनेको सम्पूर्ण व्यवसायिक साथीहरुको प्रतिनिधिको रुपमा भएको छ ।

यस्तै एसोसियटतर्फको उपाध्यक्षमा विजयी रामचन्द्र संघाईले उद्योगहरुमा आइपरेका समस्या र श्रमिकको समस्या समाधानका लागि आफ्नो पहल हुने प्रतिक्रिया दिनुभयो । उहाँले निर्यातमूलक उद्योगमा सामेल भएको हुनाले स्वदेशी उत्पादनमा वृद्धि गरेर निर्यात बढाउनेतर्फ आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

जिल्ला नगरतर्फको उपाध्यक्षमा विजयी दिनेश श्रेष्ठले जिल्ला नगर वाणिज्य संघहरुलाई आफैमा सवल र सक्षम बनाउनुको साथै व्यवसायीक ज्ञान वृद्धिलगायतमा आफ्नो पहल हुने बताउनुभयो । त्यसैगरी साना व्यवसायी र मझौला व्यवसायीलाई सक्षम र सवल बनाउँदै पूँजीमा पहुँच स्थापित गर्नेतर्फ आफ्नो प्रयास हुने उहाँले उल्लेख गर्नुभयो ।

वस्तुगत तर्फको उपाध्यक्षमा बिजयी अन्जन श्रेष्ठले वस्तुगत संघको विश्वासमा आफुले निर्वाचन जितेकाले उनीहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले लगानीको अवसर र वातावरणसँगै सुरक्षाको वातावरण मिलाउने कामका लागि विशेष पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोनाको कहर सकिएको छैन । विस्तारै जनजीवन सामान्य र व्यवसाय पनि चल्दै गएको छ । कोरानो बढ्दै गएमा आर्थिक वृद्धि ऋणात्मक हुनेछ । यसमा निजी क्षेत्रको सबै भन्दा ठूलो भूमिका छ । सरकारले केही गर्दैन भन्ने बुझिसकिएको छ । सरकारसंग सीमित साधन र स्रोत छ । सरकारसँग हामीले लगानी गर्ने अवसर र वातावरण खोज्ने हो । त्यसका लागि नीतिगत स्पष्टता र निरन्तरता चाहिन्छ । लगानीका लागि वातावरण हुनुप-यो । लगानी सुरक्षा हुनुप-यो । सम्पूर्ण वस्तुगत संघहरु र सम्पूर्ण उद्योमी व्यवसायीको समस्या यही हो । यही समस्यालाई हामीले समाधान गर्नतर्फ अगाडि जाने हो ।

महासंघमा वस्तुगततर्फ १ सय १ र जिल्ला तथा नगरमा १ सय ५ र एशोसियटतर्फ ९ सय ३ मतदाता थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *