राजनीति

नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा जवाफी प्रतिवेदन पेश (प्रतिवेदनको पूर्णपाठ)

हिमालय टिभी
२०७७ मंसिर १३ गते १६:०९
नेकपा सचिवालय बैठकमा अध्यक्ष ओलीद्वारा जवाफी प्रतिवेदन पेश (प्रतिवेदनको पूर्णपाठ)

१३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जवाफी प्रस्ताव पेश गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गर्नुभएको हो ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गर्नुभएको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिनुभएको छ । उहाँले पेश गर्नुभएको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुई अध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उहाँले बताउनुभयो ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँले अहिलेको पार्टीभित्रको बहसले एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गर्नुभयो ।

उहँले भन्नुभयो, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपयोग गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *