Main News

भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फिर्ता

हिमालय टिभी
२०७७ मंसिर १२ गते १८:२८
भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फिर्ता

१२ मंसिर, २०७७ काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने नेपाल भ्रमण पुरा गरी स्वदेश फर्किनुभएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निम्तोमा नेपाल आएका श्रृंगलाले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो । भ्रमणकै क्रममा १५ महिनापछि नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक भएको थियो ।

स्वदेश फर्कनुअघि काठमाडौंमा भएको कार्यक्रममा श्रृंगलाले नेपाल–भारत सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताउनुभयो । द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसन अफेयर्स’ ले गरेको कार्यक्रममा श्रृंगलाले आपसी सहकार्यमा जोड दिनुभएको हो ।

नेपाल–भारत सम्बन्ध दुवै देशका जनताको हितमा भन्दै उहाँले दुवै देश आफ्ना भावी पुस्ताप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । दुवै देशले युवाको आकांक्षा पूरा गर्नु आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो ।

पछिल्ला केही वर्षमा नेपाल र भारतबीचको सम्बन्धमा उतारचढाव आएको भन्दै उहाँले बलियोरुपमा सँगै अघि बढ्नुपर्ने बताउनुभयो । जटिल समस्या नियमित छलफलमार्फत समाधान गर्न सकिने श्रृंगलाको मत छ ।

भारतले अघि सारेको नारा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ तथा नेपालले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन पनि एकअर्कासँग मिल्ने उहाँले बताउनुभयो । कोरोना महामारीमा पनि दुवै देशसँगै रहेको र मिलेर लड्नुपर्नेमा श्रींगलाले जोड दिनुभयो ।

भारतले कोरोना खोपका लागि काम गरिरहेको भन्दै सचिव श्रींगलाले नेपालको आवश्यकता पूरा गर्नेगरी प्राथमिकता दिइने बताउनुभयो । श्रृंगला दिल्ली प्रस्थान अघि जानु अघि गोरखा र मनाङ पुगेर फर्किनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *