Main News

संघीयताको औचित्य पुष्टि हुँदैछ, थप जनविश्वास जित्नुपर्छः सभामुख सापकोटा (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १२ गते १५:२०
संघीयताको औचित्य पुष्टि हुँदैछ, थप जनविश्वास जित्नुपर्छः सभामुख सापकोटा (भिडियोसहित)

१२ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीयताको औचित्य पुष्टि हुँदै गएको र थप जनविश्वास जितेर सफल पार्नुपर्नेमा जोड दिनुभएको छ ।

कतिपय व्यक्ति र क्षेत्रबाट संघीयताका विषयमा प्रश्न उठिरहेका बेला सभामुख सापकोटाले संघीयताको औचित्य पुष्टि भैसकेको बताउनुभएको हो ।

संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदान प्रदान अन्तरक्रियामा सभामुख सापकोटाले थप जनविश्वास जितेर संघीयता सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

जनमुखी विधेयक बनाउन राजनीतिक दल र सांसदलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नुपरेको सभामुख सापकोटाले गुनासो गर्नुभयो । सभामुख सापकोटाले राजनीतिक दलभित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नुपर्ने कतिपय ऐन कानून नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठ्यारो परेको बताउनुभयो । सबै कुराको वातावरण बनेपनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको तिमिल्सिनाको भनाइ छ ।

संघीय संसद सचिवालयले संघीय संसद र सात प्रदेशका पदाधिकारीबीच, सभा सञ्चालन अनुभव आदान–प्रदान एवम् अन्तरक्रिया कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *