भारतीय विदेश सचिव श्रृंगला आज काठमाडौं आउँदै
११ मंसिर, २०७७ काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज काठमाडौँ आउँदै हुनुहुन्छ ।
परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको औपचारिक निमन्त्रणामा श्रृंगला बिहान १० बजे विशेष विमानमार्फत नेपाल आउन लाग्नु भएको हो । नेपाल आएलगत्तै श्रृंगला उच्चस्तरीय भेटवार्तामा ब्यस्त रहनुहुनेछ ।
नेपाल–भारत दुवैले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादकाबीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला काठमाडौं आउँन लाग्नु भएको हो ।
यो एउटा सामान्य कूटनीतिक भ्रमण भए पनि एक वर्षदेखि सीमा विवादका कारण सम्बन्ध चिसिएको पृष्ठभूमिमा यसलाई महत्वका साथ हेरिएको छ । नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि वार्ता हुँन लागेको हो ।
परराष्ट्र सचिव भरतराज पौड्याल र भारतीय समकक्षी शृंगला नेतृत्वका प्रतिनिधिमण्डलबीच आजै वार्ता हुनेछ । वार्तामा नेपालका तर्फबाट परराष्ट्र सचिव पौड्याल, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख यज्ञबहादुर हमालसहितका अधिकारीको सहभागिता रहनेछ ।
विदेश सचिव शृंगलाको टोलीमा भारतीय विदेश मन्त्रालयको नेपाल र भुटान मामिला हेर्ने सहसचिव अरिन्दम बाग्ची, भारतीय राजदूत विनयमोहन क्वात्रा र भारतीय दूतावासका अधिकारीहरू हुनेछन् ।
द्विपक्षीय वार्तामा नेपालले कालापानी, सुस्तालगायत सीमा समस्या समाधानमा जोड दिने भएको छ । त्यसका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक शीघ्र बस्नुपर्ने, प्राविधिक तहमा पनि द्विपक्षीय छलफल हुनुपर्ने धारणा नेपाली पक्षले राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर टुंगिनु पर्नेसहित बाँध, डुबान, द्विपक्षीय सम्झौताअनुसारका परियोजना कार्यान्वयनमा नेपाली पक्षको जोड रहनेछ । भारतीय पक्षले भने सीमाको विषयभन्दा बढी द्विपक्षीय आर्थिक सहकार्य, कनेक्टिभिटीलगायतमा जोड दिने सम्भावना छ ।
शृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
यस्तै, नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेतासँग पनि शृंगलालको शिष्टाचार भेट हुनेछ । भोली नेपाली थिंकट्यांक आइडिएसएद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर भारतीय टोली दिल्ली फर्किनेछ ।
प्रतिक्रिया