तिनाउ र दानव नदीको किनारमा दुई लेनको सडक निर्माण शुरु (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १० गते १९:४९
तिनाउ र दानव नदीको किनारमा दुई लेनको सडक निर्माण शुरु (भिडियोसहित)

१० मंसिर, २०७७, बुटवल । लुम्बिनी प्रदेशको आर्थिक राजधानी रुपन्देहीमा तिनाउ र दानव नदी करिडोर हुँदै भारतीय सीमासम्म सडक निर्माण हुने भएको छ । तिनाउ र दानव नदीको दुबैतर्फ डबल लेन सडक निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गरेर आज शिलान्यास गरिएको छ ।

रुपन्देहीमा धेरै दुःख दिँदै आएका तिनाउ र दानव नदीको किनारा हुँदै सडक निर्माण हुने भएको छ । बुटवल र भैरहवामा हुने ट्राफिक जामको दीर्घकालिन सामाधान गर्नका लागि भन्दै रिभर रुटको रुपमा पर्यटकीय सडक निर्माण हुने भएको हो ।

निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र , लुम्बिनी र भैरहवामा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नका लागि छोटो मार्ग एवं बाइपास मार्गको रुपमा यो नदी किनारको सडकलाई विकास गरिनेछ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सडकखण्डको शिल्यान्याससमेत गर्नुभयो ।

५० किलोमिटर लामो तिनाउ दानव करिडोर निर्माणका लागि ४ अर्ब १३ करोड बजेट लाग्ने छ । नदीको दुबैतर्फ डबल लेनको कालोपत्रे सडक निर्माणसँगै १० मिटर हरियाली, ७ मिटरको कालोपत्रे , दुबैतर्फ २ मिटर फुटपाथसहित दुवैतर्फ नाला निर्माण हुनेछ । तिनाउ खण्ड निर्माणका लागि ५२ करोड ४६ लाख र दानव खण्डमा करिब १९ करोड ४२ लाख लागत लाग्ने सडक डिभिजनले अनुमान गरेको छ ।

करिडोरको तिनाउ खण्डसम्पन्न गर्नका लागि किरोत्वर मैनाचुली अविशा जेभी काठमाडौंले ठेक्का पाएको छ भने दानवतर्फको लामा बानिया जेभि मकवानपुरले ठेक्का पाएको छ । तिनाउ खण्ड ३६ महिना र दानब खण्ड २७ महिनामा पूरा हुने गरी ठेक्का भएको हो । यस्तै तिनाउ खण्डको काम तिनाउ पुलदेखि मघरघाट पुलसम्म र दानव खण्ड बेलबास झोलुंगे पुलदेखिसम्म सडक बन्ने छ । यो करिडोर निर्माण शुरु भएपछि रुपन्देही जिल्लाका जनप्रतिनिधिसमेत उत्साही छन ।

रुपन्देही जिल्लालाई आर्थिक राजधानीको रुपमा विकास गर्ने लक्ष्यलाई यो मार्गले थप सहयोग गर्नेछ । भौतिक निर्माणको विकासले अघि बढेको रुपन्देही जिल्लामा राष्ट्रिय गौरवका आयोजना कतिपय सम्पन्न हुने अन्तिम चरणमा छन् भने कतिपयको शिलन्यास हुँदैछ । शुरु गरिएका राष्ट्रिय गौरवका आयोजना समयमा नै सम्पन्न गर्नका लागि तीनै सरकारले निरन्तर पहल गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *