राजनीति

कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोरः शीर्ष नेता नै असन्तुष्ट (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ९ गते २०:१३
कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोरः शीर्ष नेता नै असन्तुष्ट (भिडियोसहित)

९ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटवार्ताले नेपालको राजनीतिमा तरंग आयो । कतिपयले नेकपाको एउटा समूह र कांग्रेस मिलेर सरकार चलाउन खोजेको अडकल पनि काटे । नेताहरुले त्यसलाई अस्वीकार गरेपनि कांग्रेसको प्रतिपक्षीय भूमिका भने कमजोर देखिएको छ । सरकारको स्वेच्छाचारितामा लगाम लगाउनुको सट्टा सत्ता सहयात्राका लागि कांग्रेस बालुवाटार धाउन थालेको पार्टीभित्रैबाट आरोप लाग्न थालेको छ ।

भनिन्छ जति शक्ति सत्तासँग हुन्छ त्यसलाई लगाम लगाउन सक्ने त्यो भन्दा ठूलो शक्ति प्रतिपक्षीसँग हुन्छ । तर नेपाली कांग्रेसले भने यो शक्ति बुझ्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलका पछिल्ला गतिविधि सत्ता पक्षलाई लगाम लगाउने भन्दा मिलेर बाँडिचुडी खाने जस्तो मात्रै देखिएको छ । अर्थात कांग्रेस प्रतिपक्षजस्तो छैन । यो अरुले मात्रै होइन स्वयं कांग्रेसकै शिर्ष नेता पनि स्वीकार गर्छन् ।

अहिले सत्तापक्ष र प्रतिपक्षी दुबैको भूमिका नेकपाभित्रै देख्न पाइएको छ । कतिपयले कांग्रेस कमजोर भएकाले यस्तो अवस्था आएको भन्दै व्यङ्ग पनि गरिरहेका छन् । तर प्रमुख प्रतिपक्षि कमजोर बनेकै कारण सत्तापक्षलाई स्वच्छन्द हुन भने बल पुगिरहेकोमा भने धेरैको सहमति छ ।

पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई सत्ता सहयात्राका लागि प्रस्ताव गरेको खबर पनि आइरहेका छन् । र यो विषयले राजनीतिक वृत्तमा निकै हलचल पनि मच्चाएको छ । चर्को विरोधपछि कांग्रेस नेतृत्वको भनाइ अहिले अलि फेरिएको छ । नेताहरु सरकारसँग सम्झौता नगर्ने बरु कमजोर बनेको प्रतिपक्षीय भूमिका सशक्त बनाउने दाबी गर्छन् ।

नेकपाको विवादमा खेलेर अथवा उसलाई फुटाउन सहयोग गरेर अघि बढ्ने कांग्रेसको दाउ देखिन्छ । तर कांग्रेसले यो समयमा नेकपाभित्रको विवादबाट फाइदा लिनेतर्फ भन्दा पनि पहिले आफैलाई सशक्त बनाउनुपर्ने विष्लेषकको सुझाव छ ।

हुन त राजनीतिमा जे पनि हुन्छ । सत्ताको मात लागेका बेला नैतिकताको धरातल चटक्कै बिर्सिएका थुप्रै उदाहरण छन् । पछिल्लो समय नेकपामा भइरहेको तमासाले जनमतकै अनादर भइरहेको छ । त्यसमा प्रमुख प्रतिपक्षी पनि हिस्सेदार हुन खोज्नु लोकतन्त्रका लागि पक्कै पनि सुखद होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्