अक्सफोर्ड र एक्स्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्धको खोपले दियो यस्तो परिणाम
८ मंसिर, २०७७, लण्डन । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरानो भाइरसविरुद्धको खोप ७० प्रतिशत मात्रै प्रभावकारी देखिएको छ ।
विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार अन्तिम चरणको मानव परीक्षणमा यो खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी पाइएको हो ।
यसअघि अमेरिकी कम्पनी फाइजर र मोडेर्नाले निर्माण गरिरहेका खोप संक्रमण नियन्त्रणमा ९० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको थियो ।
अक्सफोर्डले निर्माण गरेको खोप अन्यको तुलनामा निकै सस्तो र स्टोर गरेर राख्न पनि सजिलो हुने किसिमको छ । यो खोपका लागि बेलायत सरकारले १० करोड डोज प्रि–अर्डर गरिसकेको छ ।
यो खोपको अन्तिम चरणको परीक्षण ब्राजिल र बेलायतका २० हजार स्वयंसेवकमा गरिएको थियो । दुई खोपको डोज पूरा भएपछि गरिएको अध्ययनमा कोरोना खोप लिएका ३० जना मानिसमा संक्रमण देखिएको थियो भने डमी खोप दिइएका १ सय १ जनामा संक्रमण देखिएको थियो ।
अनुसन्धानका अनुसार स्वयंसेवकलाई दुई ‘हाइ’ डोजको खोप दिँदा यसले ६२ प्रतिशत सुरक्षा दिएको पाइएको थियो । तर, ‘लो’ डोज खोप दिइएका मानिसमा भने संक्रमणको सुरक्षा ९० प्रतिशत रहेको पाइएको छ ।
अक्सफोर्डका अनुसार यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राख्न सकिनेछ ।
यसअघि परीक्षणमा सफल देखिएका अमेरिकी कम्पनीका खोपको भण्डारणका लागि भने निकै चिसो तापक्रम आवश्यक पर्ने बताइएको थियो ।
प्रतिक्रिया