Main News

अब कोरोना भाइरसको परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ७ गते २०:१६
अब कोरोना भाइरसको परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य (भिडियोसहित)

७ मंसिर, २०७७ काठमाडौं । केही प्रयोगशालाले गरेको कोरोना परीक्षणको रिपोर्ट गलत आएपछि सरकारले अब परीक्षणमा केही कडाइ गरेको छ । जसअनुसार अब पीसीआर परीक्षण गर्ने व्यक्तिले अनिवार्य रुपमा सरकारी परिचय पत्र देखाउनु पर्नेछ । यस्तै प्रयोगशालाले पनि केही सुधार गर्नुपर्ने छ ।

काठमाडौंका केही अस्पताल र निजी प्रयोगशालामा कोरोना परीक्षण गरी विदेश उडेका यात्रुमा ती देशमा परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । र नेपाल वायुसेवा निगमले नेपालका प्रयोगशालामाथि नै प्रश्न उठाएको थियो । त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो ।

समितिले प्रयोगशालामा त्रुटी भएको निषकर्षसहित सुधार्नका लागि निर्देशन दिएको छ । परीक्षण गरिएका नमूना तोकिएको समयसम्म भण्डारण गरी राख्नपर्ने व्यवस्थाको पालना नगरेको पाएपछि सरकारले सेन्टर डायग्नोस्टिक ल्यावरोटरी, सूर्या हेल्थ केयर, ह्याम्स अस्पताल र स्टार अस्पताललाई २४ घन्टे स्पष्टिकरण सोधेको छ ।

छानबिन समितिले विदेश गएर संक्रमण पुष्टि भएका व्यक्तिको नाममा अर्कै व्यक्तिले नमूना दिएको हुन सक्ने आशंकासमेत गरेको छ । त्यसैले अब कोरोना भाइरसको परीक्षण गर्न सरकारी परिचयपत्र अनिवार्य गरिएको छ। अब विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गरिनेछ ।

अब विदेश जानेहरुको पीसीआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र हुनेछ । सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १५ वटा प्रयोगशालालाई ए लेभलको मान्यता दिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ वा पोजेटिभ यकिन नभएमा त्यसलाई पोजेटिभ मान्न र लोअर डिटेक्सन युनिट अर्थात भाइरस पत्ता लगाउने न्यूनतम आधार तय गर्न निर्देशन दिइएको छ ।

एउटा प्रयोगशालाले कोरोना पोजेटिभ भनेको व्यक्तिको त्यही दिन अर्को प्रयोगशालामा परीक्षणा गर्दा नेगेटिभ रिपोर्ट आएका थुप्रै उदाहरण छन् । जसले प्रयोगशालामा मानवीय कमजोरी वा अन्य कारणले त्रुटि भइरहेको पुष्टि हुन्छ । सरकारले गरेको पछिल्लो निर्णयले अब परीक्षणमा त्रुटी नहोला भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *