राजनीति

नेकपामा तल्लो तहमै पुग्यो विवाद, स्थायी समिति सदस्यमाथि नै आक्रमण (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर ६ गते २०:२६
नेकपामा तल्लो तहमै पुग्यो विवाद, स्थायी समिति सदस्यमाथि नै आक्रमण (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौंं । सत्तारुढ नेकपामा चलिरहेको विवाद अब तल्लो तहसम्मै पुगेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मतभेद गहिरिँदै जाँदा जिल्लामा छुट्टै भेला मात्रै होइन कार्यकर्ता आक्रमणमै उत्रन थालेका छन् । ओली पक्षले आज सुर्खेतमा छुट्टै भेला गरेको छ । चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि नै अभद्र व्यवहार भएको छ । यसले नेकपाको विवाद झनै चर्कने संकेत गरेको छ ।

माथिल्ला सबै कमिटीमा अल्पमतमा परेको ओली पक्षले विवाद अब तल्लो तहमा लैजाने रणनीति अख्तियार गरेको छ । र सोही अनुसार ओली पक्षीय कार्यकर्ता पार्टीकै फरक विचार राख्ने नेताविरुद्ध आक्रमणमा उत्रन थालेका छन् । चितवनको राप्ती नगरपालिकामा स्थानीय पार्टी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागी भएका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेविरुद्ध ओली पक्षीय कार्यकर्ताले नारावाजी र होहल्ला गरे ।

आफ्नै निर्वाचन क्षेत्रमा भएको कार्यक्रममा नेता पाण्डेलाई बोल्न दिइएन । र हल नै छाड्न बाध्य बनाइयो ।

पछिल्लो विवादका क्रममा नेताहरुबीच तिब्र आरोपप्रत्यारोप भएपनि यसरी कार्यक्रम नै बिथाल्ने घटना भएका थिएनन् । यसलाई ओली इतर पक्षले गम्भीर रुपमा लिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालै विज्ञप्ति निकालेर नेता पाण्डेमाथि सुनुयोजित रुपमा अभद्र व्यवहार गरिएको भन्दै निन्दा गर्नुभएको छ ।

उहाँले घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ । यो घटनाले नेकपाको विवाद अब झन पेचिलो बनेको संकेत गरेको छ ।

यसअघि मन्त्रिपरिषद् पुनर्गठनमा कार्यकारी अध्यक्ष प्रचण्डसँग सहमति नजुट्दा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएर फायर खोल्नुभएको थियो । तर त्यो फायर ओलीका लागि प्रत्युत्पादक सावित भयो । यही मंसिर १३ गते सचिवालयको बैठक बोलाइएको छ । जुन बैठकमा अध्यक्ष ओलीले प्रचण्डले लगाएका आरोपको जवाफ लिखित रुपमै पेश गर्ने भनिएको छ । तर त्यसअघि नै ओली पक्षले तल्लो तहमा अर्को फायर खोलेर तर्साउन खोजेको छ ।

शनिबार नै कर्णाली प्रदेशमा मदन भण्डारी स्पोर्टस फाउन्डेसनका नाममा ओली पक्षले कार्यकर्ता भेला गरेको छ । भेलामा जनताको बहुदलीय जनवादबारे प्रशिक्षण दिइएको छ ।

ओली पक्षले त्यसअघि काठमाडौंमै पनि भेला गरिसकेको छ । जहाँ नेता र्इश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो । यी घटनाले नेकपाको विवाद अब मिल्ने भन्दा पनि पार्टी फुट्दा आफ्नो पक्षलाई कसरी बलियो बनाउने भन्नेमा केन्द्रीत हुन थालेको देखिएको छ ।

यो बीचमा केही नेताले पार्टी फुट्न नदिन प्रयास गरिरहेका छन् । तर मतभेद यसरी बढिरहेको छ कि एक पक्षका कार्यकर्ता अर्को पक्षका नेताविरुद्ध नाराबाजीमा उत्रन थालेका छन् । नेकपाले सचिवालयसँगै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गरिसकेको छ ।

एकीकृत पार्टीको चाहना राख्नेहरुको ध्यान अहिले तिनै बैठकमा केन्द्रीत छ । तर पछिल्लो पटक देखिएका घट्नाले लडाइँ अब कमिटीका बैठकमा मात्रै होइन कार्यकर्ता तहसम्मै हुने देखिएको छ । प्रचण्ड नेपाल पक्षले अध्यक्ष ओलीमाथि पार्टी विभाजन गर्न खोजेको आरोप लगाइरहेको छ ।

ओली पक्षले तल्लो तहसम्मै ध्रुवीकरणको रणनीति अपनाएर त्यस्तो संभावना छ है भन्दै अर्को पक्षमाथि दबाब बनाउन खोजिरहेको छ । अब प्रचण्ड–नेपाल पक्षले काउन्टरमा कस्तो रणनीति अपनाउँछ स्पस्ट भइसकेको छैन । तर पछिल्ला घटनाले नेकपाको एकता चाहनेहरुलाई भने पुरै निराश बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्