Main News

मंसिर २० गतेसम्म १८ बुँदे माग पूरा नभए सिसडोलबासीले फोहोर फ्याँक्न नदिने

हिमालय टिभी
२०७७ मंसिर ५ गते १५:२४
मंसिर २० गतेसम्म १८ बुँदे माग पूरा नभए सिसडोलबासीले फोहोर फ्याँक्न नदिने

५ मंसिर, २०७७ काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

वैज्ञानिक ढंगबाट फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, मानव स्वास्थ्यको पूर्ण ग्यारेण्टीसहित जीवन बीमा गर्नुपर्ने, विकास निर्माणका काम जनताले भनेअनुसार तत्काल शुरुवात गर्नुपर्ने उनीहरुको माग छ ।

जग्गा अधिग्रहण राजनीतिक दलका सीमित व्यक्तिको आधारमा प्रभावित क्षेत्रभित्र हुनुको औचित्य पुष्टि गर्नुपर्ने, रोनाष्टको आधारमा प्रभावित क्षेत्र घोषणा हुनुपर्ने स्थानीयको माग छ । स्थानीय दिनेश कार्कीले बञ्चरे डाँडामा ल्याण्डफिल साइड फोहोर फाल्न तयारी अवस्थामा रहेपनि आफ्ना मागहरु पुरा नभएसम्म फाल्न नदिने बताउनुभयो । जनताको न्यूनतम मागहरुसमेत पुरा नगरी फोहोर फाल्ने तयारी भएपछि आफूहरु आन्दोलित भएको उहाँको भनाइ छ ।

यातायात, शिक्षा, स्वास्थ्य, पशुबीमा, बालिबीमाको तत्काल व्यवस्था गर्नुपर्ने, विकास निर्माणका लागि १६ वर्षदेखि विनियोजन भएको रकमको हिसाबकिताब गर्नुपर्ने, ८० शैयाको अस्पताल तत्काल निर्माण गर्नुपर्ने माग उनीहरुको छ ।

वातावरणलाई विगतमा जस्तै प्राकृतिक ढंगमा कायम गर्नुपर्ने र फोहोरको प्रभावबाट मानिस, पशुपंक्षी, बोटबिरुवा सुरक्षित हुने ग्यारेण्टी गर्नुपर्ने स्थानीयहरुको भनाइ छ । अर्का स्थानीय रामचन्द्र ढुंगानाले जनताले अहिलेसम्म काठमाडौंको फोहोर मात्रै खाएको बताउनुभयो । स्थानीयहरुको व्यवस्थापन नहुँदासम्म फोहोर फाल्न नदिने उहाँको भनाई छ ।

स्थानीयले फोहोरबाट निस्कने लिचड पदार्थको उचित व्यवस्थापन हुनुपर्ने पनि बताएका छन् । मंसिर २० गतेसम्म आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै स्थानीयले मानव बसोबासरहित फोहोरमैला व्यवस्थापन गर्दै जग्गा अधिग्रहण गर्नुपर्ने पनि बताएका छन् । फोहोरमैला व्यवस्थापन भएको ठाउँमा विस्फोट नहुने ग्यारेण्टी गनुपर्ने उनीहरुको माग छ ।

ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घनश्याम बजगाईले फोहोरमा राजनीति नगर्न आग्रह गर्नुभयो । काठमाडौं महानगरले आफुहरुमाथि मानवीय व्यवहार नगरेको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

बागमती प्रदेशका सांसद बद्री मैनालीले बस्ती भएको ठाउँमा फोहोर फाल्ने निर्णय नै गलत भएको बताउनुभयो । फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भएकाले यसको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

लामो समयदेखि काठमाडौं उपत्यकाको फोहार सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । पछिल्लो समय सिसडोल क्षेत्र भरिएपछि बञ्चरेडाँडामा व्यवस्थापन गर्ने गरिएको छ । स्थानीयको स्वास्थ्यमा गम्भिर असर पर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरिएको भन्दै स्थानीयले लामो समयदेखि समस्या समाधानका लागि आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *