कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, २१०३ संक्रमित थपिए

४ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । पछिल्लो पटक २१ सय भन्दा बढी संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ पुगेको छ । पछिल्लो पटक पीसीआर परीक्षण बढेपछि संक्रमितको संख्या पनि धेरै देखिन थालेको छ ।
गत २४ घण्टामा ९ हजार ८ सय ५ नमूना परीक्षण गर्दा २१ सय ३ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । योसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । थपिएका मध्ये आधाभन्दा बढी १२ सय २९ संक्रमित काठमाडौं उपत्यकामा छन् ।
काठमाडौंमा ९ सय ६५, ललितपुरमा १ सय ८९ र भक्तपुरमा ७५ संक्रमित थपिएका छन् । उपत्यकावाहिर मोरङमा १ सय २८, चितवनमा ८०, सुनसरीमा ७९, कास्कीमा ७६, रुपन्देहीमा ५८ र झापामा ५१ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक २८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
जुन कुल संक्रमितको ८६ प्रतिशत भन्दा बढी हो । ३ सय ८० जना संक्रमितेको आइसीयु र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया