Main News

आज नेपाल संवत् ११४१ विभिन्न कार्यक्रमसहित मनाइँदै

हिमालय टिभी
२०७७ मंसिर १ गते ७:०५
आज नेपाल संवत् ११४१ विभिन्न कार्यक्रमसहित मनाइँदै

१ मंसिर, २०७७ काठमाडौं । कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन मनाइने नेपाल संवत्अनुसारको नयाँ वर्ष आज मनाइँदैछ ।

नेसं ११४१ का अवसरमा आज देशभर विविध कार्यक्रम गरिँदैछ । यस वर्ष कोरोना महामारीका कारण भीडभाड हुने कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेसंको शुरुआत गराउनुभएको थियो । नेसंले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

“लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उहाँले भन्नुभयो ।

विसं २००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेसंलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएकोे थियो ।

विसं २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेसंले राष्ट्रिय मान्यता पाउने घोषणा गर्नुभएको थियो । कार्तिक कृष्ण औँसीका दिन बहीखाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको शुरुआत गर्ने परम्परासमेत काठमाडौँमा अझै छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेसं नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवत्को नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ ।

लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *