कोरोनाकालमा एम्बुलेन्स चलाएका बाँकेका चालकले अझै पाएनन् जोखिम भत्ता (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २९ गते १७:३७
कोरोनाकालमा एम्बुलेन्स चलाएका बाँकेका चालकले अझै पाएनन् जोखिम भत्ता (भिडियोसहित)

२९ कात्तिक, २०७७ बाँके । सरकारले कोरोना संक्रमितलाई आइसोलनेसनस्थल र अस्पतालमा पुर्‍याउने एम्बुलेन्स चालकलाई प्रति दिन एक हजार ५ सयका दरले जोखिम भत्ता दिने निर्णय गरेको थियो । तर बाँकेका एम्बुेन्स चालकले अहिलेसम्म त्यो पाएका छैनन् ।

कोरोना संक्रमितलाई आइसोलनेसनस्थल र अस्पतालमा पुराउँदै आएका बाँकेका एम्बुलेन्स चालकले जोखिम भत्ता अझैसम्म पनि पाएका छैनन् । कोरोनाको संक्रमण शुरु भएका बेला व्याप्त भय, त्रास र अन्योलको अवस्थादेखि हालसम्म निक्कै जोखिम खेपेर एम्बुेन्स चालकले संक्रमितलाई आइसोलेसनस्थल र अस्पतालमा पुराउँदै आएका छन् ।

स्वास्थ्यकर्मी, चिकित्सक, र सुरक्षाकर्मी नजिक पर्न डराउने बेलामा संक्रमितलाई आइसोलेसन केन्द्र र अस्पतालसम्म पुर्‍याउनु निक्कै गाह्रो थियो । त्यस्तो जोखिमको अवस्थामा स्थानीय प्रशासन र जनप्रतिनिधिले निक्कै अनुरोध गरेर संक्रमितलाई आइसोलेसन केन्द्र र अस्पतालमा पुर्‍याउन लगाए । तर अहिलेसम्म बजेटको अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालयले जोखिम भत्ता नदिएको एम्बुलेन्स चालकको गुनासो छ ।

एम्बुलेन्स चालकले बाँकेका संक्रमितलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा मात्र हैन, दाङको बेलझुन्डिस्थित आइसोलेसनमा समेत पुर्‍याएका थिए ।

एम्बुलेन्स रोकेका बेला संक्रमित भाग्ने डरदेखि संक्रमितलाई आफ्नो क्षेत्रमा ल्याएर संक्रमण फैलाउने जोखिम बढाएको भनेर आक्रमण हुने डरको समेत सामना गर्दै उनीहरुले काम गरेका थिए । कोरोना संक्रमितको व्यवस्थापनमा एम्बुलेन्स चालकले निक्कै ठुलो योगदान पुराएको भए पनि बजेट अभावका कारण जोखिम भत्ता दिन नसकिएको प्रशासनको जवाफ छ ।

आफैं संक्रमित भएर पनि एम्बुलेन्स चालकले जिम्मेवारी पूरा गरिरहेका बेला सरकार भने यो वा त्यो बाहनामा आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन । अग्रपंक्तिमा घटिएकालाई प्रोत्साहन गर्नै पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *