Main News

काठमाडौं उपत्यकामा फेरि लकडाउन कति आवश्यक ? के भन्छन् विज्ञ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २७ गते १७:५३
काठमाडौं उपत्यकामा फेरि लकडाउन कति आवश्यक ? के भन्छन् विज्ञ ? (भिडियोसहित)

२७ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै झण्डै चार महिना लकडाउन र दुई महिना निषेधाज्ञा लगाइसकेको छ । कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै उपत्यका मेयर फोरमले तिहारपछि लकडाउनको प्रस्ताव गरेको छ । के फेरि लकडाउन गर्नुपर्ने आवस्यक छ त ?

कोभिड नाइन्टिन संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे उपत्यकाका मेयरहरुसँग बुधबार छलफल गर्नुभयो । करिब पाँच घण्टा लामो छलफलमा मेयर फोरमले तिहार र छठपछि लकडाउन गर्न प्रस्ताव गरेको छ ।

फोरमले अब १४ देखि २१ दिनसम्म लकडाउन गर्न प्रस्ताव गरेको छ । र उपत्यका छिर्ने नाका पूर्ण रुपमा बन्द गर्नुपर्ने पनि उसको माग छ । यसबाट काठमाडौं उपत्यकामा कोरोना संक्रमण निणन्त्रण हुने फोरमको विश्वास छ ।

तर मेयर फोरमको यो प्रस्तावको समाचार बाहिर आउने बित्तिकै विरोध पनि शुरु भएको छ । काठमाडौंमा नै घर गृहस्थी भएका र कामै नगरी पैसा आउने बाटो भएकाका लागि यो प्रस्ताव ठिकै लागे पनि दैनिक गरिखाने वर्गका लागि भने अप्रिय छ । मेयर फोरमको प्रस्तावप्रति विज्ञ पनि असन्तुष्ट छन् । कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनका लागि लकडाउनलाई नै अचुक उपाय ठान्नु गलत भएको विज्ञको भनाइ छ ।

यसअघि पनि सरकारले कोरोना संक्रमण नियन्त्रणको लागि भन्दै लकडाउन र निषेधाज्ञा लगाएको थियो । तर त्यसलाई प्रभावकारी बनाउन नसक्दा निम्न वर्गीय नागरिक पीडामा परेका थिए ।

लामो समयको लकडाउन घरभित्रै थुनिएर बस्दा भोकभोकै पर्ने स्थिति आएपछि उनीहरु बाहिर निस्किन थाले । सँगसँगै कोरोना संक्रमितको संख्या बढ्दै गयो । सरकारले लगाएको लकडाउन र निषेधाज्ञा फेल भयो ।

अहिले संक्रमितको संख्या मात्रै होइन, मृतकको संख्या पनि बढ्दै गएको छ । त्यसैले सरकारले लकडाउन नगरिकनै अबका दिनमा जनस्वास्थ्य मापदण्ड पालना गराउन भूमिका खेल्ने हो भने अहिलेको अवस्था नियन्त्रणमा आउन सक्छ ।

सीसीएमसीसँग उपत्यका मेयर फोरमले राखेको यो प्रस्ताव कार्यान्वयन हुन्छ हुँदैन यो सरकारले गर्ने निर्णयमा भर पर्छ । कोरोना संक्रमणको दर र अवस्था उपत्यमा कस्तो रहन्छ, सोही अनुसार मेयर फोरमले गरेको प्रस्तावको विषयमा विचार गर्ने सीसीएमसीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *