नक्कली सिफारिस बनाएर रकम असुल गर्ने अस्पतालका तीन जना कर्मचारी पक्राउ

२६ कात्तिक, २०७७ बाँके । नक्कली सिफारिस बनाएर पीसीआर परीक्षणका लागि सेवाग्राहीबाट रकम असुल गरेको अभियोगमा नेपालगन्जको भेरी अस्पतालका २ जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् ।
नक्कली सिफारिस बनाएर निःशुल्क परीक्षणको मापदण्डमा नपरेका ब्यक्तिबाट जनही एकएक हजार रकम असुल गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।
अस्पतालका सुरक्षागार्ड बद्री खनाल, वासुदेव जोशी र सहयोगी विवेक अधिकारीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बाँकेका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो ।
अस्पतालका चिकित्सकको सिफारिसका आधारमा पीसीआर ल्याबले निःशुल्क परीक्षण गर्दै आएको छ । भेरी अस्पतालका चिकित्सकले गरिब, विपन्न, एकल महिला र जेष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षणको सिफारिस गर्ने गरेका छन् ।
चिकित्सकको सिफारिस नभएका ब्यक्तिहरुले पीसीआर परीक्षणका लागि २ हजार शुल्क तिर्नुपर्छ । पक्राउ परेका ब्यक्ति भेरी अस्पतालले आउटसोर्सिङमा माता बागेश्वरी कम्पनीबाट राखेका कर्मचारी हुन् ।
प्रतिक्रिया