Main News

आज फाल्गुनन्द जन्म जयन्ती मनाइँदै

हिमालय टिभी
२०७७ कार्तिक २५ गते ७:५९
आज फाल्गुनन्द जन्म जयन्ती मनाइँदै

२५ कात्तिक, २०७७ काठमाडौं । आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।

विक्रम सम्बत १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएको बताइन्छ । उनले किरात धर्मालम्वीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन शुरुवात गरेका थिए ।

उनको पहलमा पाँचथरका चोकमागुमा १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।

करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने जनाउँदै राष्ट्रपतिले किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने उहाँको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वा व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ ।

किराँत धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापालगायत पूर्वी पहाडी जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उहाँ जन्मनुभएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *