विदेश

कोरोनाविरुद्धको खोप सफलता नजिक, ९० प्रतिशत सुरक्षा दिने खोप तयार

हिमालय टिभी
२०७७ कार्तिक २५ गते ७:३६
कोरोनाविरुद्धको खोप सफलता नजिक, ९० प्रतिशत सुरक्षा दिने खोप तयार

२५ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसविरुद्ध बनिरहेको एक खोपले ९० प्रतिशतलाई सुरक्षा दिने गरी तयार भएको बताइएको छ ।

कोरोनाविरूद्धको पहिलो प्रभावकारी खोपले त्यस्तो खोप लगाएकामध्ये ९० प्रतिशत भन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको हो। उक्त खोपको विकास विश्वकै ठूलो औषधि कम्पनी फाइजर र बायो एनटेकले उत्पादन गरेका हुन् ।

नतिजाले विज्ञान र मानवताका लागि एक महान दिन भएको अनुसन्धानकर्ताले बताएका छन् । खोप विभिन्न ६ देशका ४३ हजार ५ सय भन्दा बढी मानिसमा परीक्षण गरिएको थियो र त्यस क्रममा सुरक्षासम्बन्धी कुनै पनि चिन्ताहरू देखा परेका थिएनन्। कम्पनीले यही नोभेम्बर महिनाको अन्त्यसम्म खोपको प्रयोगको लागि अनुमति पाउन आपत्कालीन आवेदन दिने बताइएको छ ।

विश्वभर झण्डै एक दर्जनजति खोप परीक्षणको अन्तिम चरण अर्थात फेज थ्री ट्रायलमा रहेका छन् । अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो खोप भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खोपले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाउँदै शरीरको रोग प्रतिरोधी क्षमतालाई भाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराउने विधि स‌ंलग्न छ।

अहिलेसम्म अमेरिका, ब्राजिल, जर्मनी, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा भएको परीक्षणमा सात दिनभित्र मानिसमा भाइरसको प्रतिरक्षात्मक प्रणाली विकसित भएको पाइएको छ ।

फाइजरले यस वर्षको अन्त्यसम्म यस खोपको पाँच करोड खेप उपलब्ध गराउन सक्ने र सन् २ हजार २१ को अन्त्यसम्म १ दशमलव ३ अर्ब खेप तयार हुन सक्ने आशा व्यक्त गरेको छ । तर यस खोपलाई शून्यदेखि ८० डिग्री सेल्यिसभित्रको तापमानमा राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *