सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित उपचार पाउनै नसक्ने अवस्थामा (भिडियोसहित)
२४ कात्तिक, २०७७ सुर्खेत । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था शुरु भएको छ । गम्भीर प्रकृतिका लक्षणसहितका संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसीयु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन्। आइसीयु र भेन्टिलेटर नपाएर कैयौं संक्रमित समस्यामा पर्न थालेका छन् । होम आइसोलेसनमै बसेका संक्रमितको मृत्यु हुन थालेको छ ।
सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १६ भेन्टिलेटर भरिएका छन् । १७ वटा भेन्टिलेटर रहेको अस्पतालमा अहिले १६ जनाको उपचार भइरहेको छ । जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसीयु र भेन्टिलेटरको अभाव भएको हो । आइसीयु भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन ।
चिकित्सकले भने कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताइरहेका छन् । कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको चिकित्सकहरु बताउँछन् । जटिल किसिमका संक्रमित बढेसँगै मृत्युदर पनि बढेको छ । जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसीयु अभाव हुन लागेको छ।
स्वास्थ्य निर्देशनालयले उपचारका लागि भेन्टिलेटर र आइसीयु थप्न लागेको दावी गरेको छ । भेन्टिलेटरको व्यवस्थापन गर्ने तर्फ निर्देशनालय जुटेको छ ।
प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रणमा निकै सक्रियता देखाएको दावी गरे पनि अहिलेनै भयाभह अवस्था आउन थालेको छ । भेन्टिलेटर र आइसीयु अभावमा होम आइसोलेसनमै मृत्यु भइरहेका बेला प्रदेशका मन्त्रीले भने उपकरण खरिद हुँदैछन् भन्दै महिनौ टारिदिने गरेका छन् । यस्ता झुटा आश्वासनले जनताको स्वास्थ्यमाथि ठुलो खेलवाड भइरहेको छ ।
प्रतिक्रिया