विदेश

वर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने नवनिर्वाचित राष्ट्रपति बाइडेनको तयारी

हिमालय टिभी
२०७७ कार्तिक २४ गते ७:२३
वर्तमान राष्ट्रपति ट्रम्पका केही निर्णय उल्ट्याउने नवनिर्वाचित राष्ट्रपति बाइडेनको तयारी

२४ कात्तिक, २०७७ न्युयोर्क । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टयाउने तयारी गरेका छन् ।

अमेरिकी कंग्रेसको सहमति नचाहिने केही निर्णय हेरफेर गर्न बाइडेनले कार्यकारी आदेशको तयारी थालेका हुन् ।

उनले पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको तथा विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले बन्द गरेको सहयोगको निर्णय फिर्ता लिने बताइएको छ ।

यसका साथै उनले केही मुस्लिम बाहुल्य देशबाट अमेरिकी प्रवेशमा लागेको प्रतिबन्ध फुकुवा गर्ने जनाइएको छ । राष्ट्रपति बाइडेनका सल्लाहकार अहिले इतिहासमै समावेशी मन्त्रिमण्डलको तयारीका लागि छलफल गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले आज कोरोना भाइरसको महामारी नियन्त्रणका लागि चिकित्सक र विशेषज्ञसहितको टोलीको घोषणा गर्ने बताइएको छ । अमेरिकामा अहिले पनि मतगणना जारी रहेको छ ।

नोभेम्बर ३ तारिखमा भएको निर्वाचनमा यस पटक अग्रिम मतदानबाट इतिहासमै अत्याधिक मत आएका कारण गणनामा ढिलाई भएको हो ।

यद्यपि बाइडेनले अहिलेसम्म ५० राज्य मध्ये ४६ राज्यमा घोषित परिणाम अनुसार २ सय ७९ इलेक्टोरल कलेज मत जितिसकेका छन् ।

त्यस्तै बाइडेनले १६ इलेक्टोरल कलेज मत रहेको जर्जिया र ११ इलेक्टोरल कलेज मत रहेको एरिजोनामा समेत अग्रता कायमै राखेका छन् । निर्वाचित हुन २ सय ७० इलेक्टोरल कलेज मतको आवश्यकता हुन्छ ।

उता राष्ट्रपति ट्रम्पले हार स्वीकार गरेका छैनन् । उनले लगातार धाँधलीको आरोप लगाउँदै आफूबाट नतिजा खोसिएको बताउँदै कानूनी प्रक्रिया थालेका छन्। तर धाँधलीको कुनै प्रमाण भने नभेटिएको अमेरिकी सञ्चारमाध्यमको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *