Political Hightlights

ओली सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा नेकपा मसालभित्र भाँडभैलो

हिमालय टिभी
२०७७ कार्तिक २३ गते १५:२०
ओली सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा नेकपा मसालभित्र भाँडभैलो

२३ कात्तिक, २०७७ काठमाडौं । ओली सरकारलाई हेर्ने विषयलाई लिएर मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मसालभित्र भाँडभैलो मच्चिएको छ ।

पार्टीभित्र विवाद बढ्दै जाँदा मसालले पार्टीभित्र अल्पमत पक्षका नेता एवं केन्द्रीय सदस्य रामबहादुर बुढा विम्वलाई जिम्मेवारीबाट हटाएको छ । बुढालाई पार्टीको केन्द्रीय समिति र अखिल नेपाल जनजाति सम्मेलनको महासचिवबाट पनि हटाइएको छ ।

महामन्त्री सिंहले जारी गरेको परिपत्रमा गुटबन्दी गरेको, गोप्यता भंग गरेको र छद्म नाममा पार्टी विरुद्ध लेखेको आरोप लगाइएको छ । यस्तै पूर्व पोलिटब्यूरो सदस्य विमल शर्मा आकाशलाई मसालले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

निष्काशनमा परेका बुढाले पहिले पनि ओली सरकारमा जान नहुने र अहिले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनु पर्ने मत राख्दै आएको बुझिएको छ ।

ओली सरकारले जनघाती र राष्टघाती काम गरेको भन्दै आन्दोलन गर्नुपर्ने बुढा लगायतका नेताको मत थियो । तर महामन्त्री मोहनविक्रम सिंह लगायतले अहिले ओली सरकार विरुद्ध लाग्दा गणतन्त्र खतरामा पर्न सक्ने बताउँदै आएको छ ।

निष्काशनमा परेको विमल शर्मा पार्टी भित्र लामो समय महामन्त्री मोहनविक्रम सिंहका विश्वास पात्र मानिनुहुन्थ्यो । केन्द्रका निर्देशन नमानेको र गुटबन्दीमा संलग्न रहेको भन्दै अहिले विमल शर्मा जिम्मेवारीमा रहेको नवलपुर जिल्ला कमिटी विघटन गरिएको छ ।

नेकपा मसालको केन्द्रीय समितिमा अब अल्पमत पक्षका कृष्ण पौडेल र कृष्णबहादुर खड्का मात्रै बाँकी रहेको एक नेताले जानकारी दिएका छन ।

०७६ जेठमा भएको आठौं महाधिवेशनसम्म अल्पमत पक्षका १० जना केन्द्रीय समितिमा रहेकोमा महाधिवेशनबाट चार जना मात्रै परेका थिए । तर विवाद बढ्दै जाँदा ओमबहादुर केसीलाई केही समय अघि निष्काशन गरिएको थियो ।

नेकपा मसालमा केही वर्षदेखि सरकारमा जाने कि नजाने र सरकारलाई हेर्ने विषयमा विवाद चलिरहेको छ । अल्पमत पक्षले सरकारमा जान नहुने र ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने मत राखिरहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्