युवा क्लब र आमा समूहको पहलमा विपन्नलाई आवास (भिडियोसहित)

२३ कात्तिक, २०७७, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले विपन्न ७५ परिवारका लागि घर बनाउने काम सुरु गरेको छ ।
प्रतिपरिवार दुई लाख रुपैयाँ बराबरको निर्माण सामग्री नगरपालिकाबाट हस्तान्तरण गरेपछि स्थानीय युवा क्लब र आमा समूह विपन्नका लागि आवास निर्माणमा जुटेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १० पकवादी बराल गाउँमा रहेको एउटा झुप्रोमा मनकुमारी मश्राङ्गीले धेरै हिउँद र बर्खा बिताउनुभयो । तर अहिले त्यो झुप्रो भएको ठाउँमा स्थानीय युवा क्लबका युवा धमाधम इट्टा थपिरहेका छन् ।
यहाँ काम गरे वापत मनकुमारीले युवालाई पारिश्रमिक दिनु पर्दैन । अन्य निकायबाट पनि यि युवाले पारिश्रमिक पाउँदैनन् तर पनि काममा दत्तचित्त भएर लागेका छन ।
विपन्न परिवारका लागि घर निर्माणमा श्रम गर्न पाउँदा युवा सन्तुष्ट मात्र छैनन्, काम सिक्ने अवसर पाएको भन्दै मख्ख पनि छन्।
मनकुमारी मश्राङ्गीको मात्रै होइन, विपन्नका लागि भइरहेको आवास निर्माणमा गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारी पनि खटिनु हुन्छ । उहाँले सबै घरको आफैँले शिलान्यास गर्ने गर्नुभएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर १० बाट शुरु भएको विपन्नको घर बनाउने अभियान नगरपालिकाका ११ वटै वडामा विस्तार भएको छ । वडा नम्बर दुईमा १६, वडा नम्बर तीनमा दुई , वडा नम्बर चारमा ५, वडा नम्बर ६ मा २ र वडा नम्बर ८ मा ५ वटा घर निर्माणको तयारी भएको छ ।
यस्तै, वडा नम्बर ९ मा १० वटा, र वडा नम्बर ११ मा तीन वटा घर निर्माणको क्रममा रहेका छन् । अन्य घरहरु पनि पहिचान गरी निर्माणको तयारीमा रहेको नगरपालिकाले जनाएको छ । विपन्नका सबै घर एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने नगरपालिकाको दाबी छ ।
नगरपालिकाले सुरु गरेको विपन्न परिवारको घर निर्माणको अभियानले हुँदा खाने वर्गले राहतको महसुस गरेका छन् । स्थानीय युवा र सरकारको साझेदारीमा गरिएको अभियानलाई अन्य पालिकाहरुमा विस्तार गर्न सके छानो विना बस्नुपरेका विपन्नहरुको अनुहारमा खुशी छाउने छ ।
प्रतिक्रिया