Political Hightlights

नेकपाका पाँच सचिवालय सदस्यले गरे भोलि नै बैठक बोलाउन लिखित माग, ओली मौन (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक २२ गते १४:१८
नेकपाका पाँच सचिवालय सदस्यले गरे भोलि नै बैठक बोलाउन लिखित माग, ओली मौन (भिडियोसहित)

२२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्यले तत्काल बैठक बोलाउन लिखित आग्रह गरेका छन् ।

कार्यकारी अध्यक्ष दाहालसहित पाँच सचिवालय सदस्यले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक तत्काल बोलाउन लिखित आग्रह गरेका हुन् ।

सकभर भोलि नभए पर्सीसम्म बैठक बसेर गम्भिरतापूर्वक छलफल गरौं र पार्टीलाई एकतावद्ध बनाउने विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौं भनेर अनुरोध गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर सचिवालय बैठक आह्वानका लागि लिखित अनुरोध गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । अध्यक्ष दाहालसहित झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम र श्रेष्ठले आज भोलिमै बैठक बोलाउन लिखित माग गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सकभर भोलि नभए पर्सीसम्म बैठक बसेर गम्भिरतापूर्वक छलफल गरौं र पार्टीलाई एकतावद्ध बनाउने विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन गर्ने, पार्टीको निर्णय सबैले कार्यान्वयन गर्ने दिशातिर जाने गरी निष्कर्ष निकालौं भनेर अनुरोध गरिएको हो ।’’

कोभिड—१९ ले पैदा गरेको स्वास्थ्य संकट, जनतामा देखा परेको समस्या, आर्थिक संकट लगायतका विषयमा छलफल गर्न बैठकको माग गरिएको श्रेष्ठले बताउनुभयो । यस्तै स्थायी कमिटी बैठकले गरेका निर्णय कार्यान्वयन अगाडी बढ्न नसकेको अवस्थाको समीक्षा र पार्टीमा उत्पन्न संकटको सम्बन्धमा छलफल गर्दै पार्टी एकताको रक्षा गर्न पनि बैठक आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यकारी अध्यक्ष दाहालले पटकपटक बैठकका लागि आह्वान गर्दा पनि बस्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज लिखित अनुरोध गरिएको श्रेष्ठको भनाइ छ । बैठक बस्ने बारेमा भने ओलीले आज निष्कर्ष नदिएको उहाँले बताउनुभयो । भेटमा ओली मौन रहेको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्