भारतीय सेनाध्यक्ष नरवणे र प्रधानमन्त्री ओलीबीच भेटवार्ता आज
२१ कात्तिक, २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले आज रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई भेटेर उहाँ आजै भारत फर्किनुहुनेछ ।
त्यसअघि नरवणे आज बिहानै हिमाल अवलोकनमा जानुहुनेछ। उहाँ सेनाको हेलिकप्टरमा चढेर सगरमाथासहित नेपालका हिमालको अवलोकनमा जाने कार्यक्रम छ । जुन उहाँको निजी तालिकाको कार्यक्रम हो । फर्किएर नरवणेले स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा बुधबार नेपाल आएका नरवणेले हिजो दोस्रो दिनको अन्तिम कार्यक्रमस्वरुप जंगी अड्डामा आयोजना भएको रात्रीभोजमा सहभागी हुनु भएको छ ।
रात्रिभोज अनौपचारिक भए पनि निकै महत्पूर्ण मानिएको छ । नेपाल भारतीबीच सीमा विवाद समाधानका लागि सैन्य कुटनीतिको प्रयोग गर्नुपर्ने आवाज उठिरहेका बेला दुई देशका सेनाप्रमुखबीच यस विषयमा छलफल भएको अनुमान गरिएको छ ।
सीमा विवादका कारण लामो समयदेखि संवादहिनताको अवस्थामा रहेको नेपाल भारत सम्बन्धमा यो भ्रमणले सेतुको काम गर्ने धेरैको आशा छ ।
किनकी यो भ्रमणले नेपाललाई सीमा विवादका सम्बन्धमा दिल्लीको मनोदशा बुझ्ने अवसर दिनेछ भने दिल्लीलाई नेपालको ।
प्रतिक्रिया