भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई आज मानार्थ महारथीको दर्ज्यानी प्रदान गरिने
२० कात्तिक, २०७७ काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्नुहुनेछ ।
दिउँसो ४ बजे शीतलनिवासमा राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने नेपाली सेनाले जनाएको छ । नरवणेको भ्रमणको मुख्य कार्यक्रम पनि यही नै हो ।
लगतै शीतल निवासमै राष्ट्रपति भण्डारीसँग शिस्टाचार भेट गर्नुहुनेछ । त्यसअघि उहाँले बिहान टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरेर जंगि अड्डामा निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षण सकिएपछि प्रधानसेनापति पूर्णचन्द्र थापासँग दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल हुनेछ।
भोलि दिउँसो रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेर नरवणे स्वदेश फर्कनुहुनेछ ।
हिजो नेपाल आएका नरवणेले वसन्तपुरमा कुमारी र पशुपति पुगेर पशुपतिनाथको दर्शन गर्नुभएको थियो ।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नरवणे ४ सदस्यीय प्रतिनिधि मण्डलसहित भारतीय वायू सेनाको विमानमार्फत हिजो काठमाडौं आउनु भएको हो ।
भारतले सिर्जना गरेको सीमा समस्याका कारण दुई देशबीच संवादहीनताको अवस्था रहेका बेला भएको नरवणेको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
दुई मुलुकबीच राजनीतिक र कूटनीतिक तहमा सम्वाद नभइरहेका बेला नरवणेको भ्रमणले संवादहीनताको अन्त्य गर्ने सक्ने धेरैको विश्वास छ ।
प्रतिक्रिया