Main News

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिनुको औचित्व के ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १९ गते २०:२४
भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी दिनुको औचित्व के ? (भिडियोसहित)

१९ कात्तिक, २०७७, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भोलि राष्ट्रपतिको हातबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्दैछन् । सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ । तर अहिले आएर यसको औचित्य र निरन्तरताबारे बहस हुन थालेको छ ।

नेपाली सेनाको अभिलेख अनुसार सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पद्वी प्रदान गरिएको थियो । नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए ।

यसरी हेर्दा दुई देशका सेनाबीच मानार्थ उपाधि दिने परम्परा सुरु भएको ७० वर्ष भएको छ । नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ । राजनीति र परराष्ट्र नीतिले काम नगर्दा सैन्य कूटनीति प्रयोग भएका इतिहास छन् । त्यसैले भविष्यमा पनि यस्तो अवस्था आउन सक्ने भएकाले सैन्य सम्बन्ध प्रगाढ बनाउन पनि मानार्थ पदवीको यो परम्परालाई निरन्तरता दिनुपर्ने कतिपय विज्ञको मत छ ।

सैनिक अभिलेख अनुसार अहिलेसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन् । र १८औं मानार्थ महारथीको पदवी बिहीबार नरवणेले पाउँदैछन् । नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन् । तर नेपाल भारतको अवस्था हिजोको जस्तो छैन । त्यसैले तत्कालिन समयमा भारतमा ब्रिटिश शासनको समयमा शुरु भएको मानार्थ पदावीको परम्परा अब हटाउनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

तर केहीको भने यसमा अलिक फरक धारणा छ । दुई देशका सेनाबीच मानार्थ महारथी पदवी दिने परम्परा दुर्लभ रहेकाले यसलाई समय सापेक्ष बनाउनुपर्ने बताउनुहुन्छ परराष्ट्रविद दिनेश भट्टराई ।

त्यसोत ‘मानार्थ महारथी’ पदवी आफैंमा निकै महत्वपूर्ण र अर्थपूर्ण छ । यसले नेपाली र भारतीय सेनाबीचको सम्बन्धको प्रगाढता पुष्टि गर्छ । कहिलेकाहीँ दुई देशबीचको आन्तरिक समस्या समाधानमा समेत सैन्य सम्बन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । यस्तोमा मानार्थ पदविको परम्परालाई देशहित अनुकूल प्रयोग गर्न जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *