कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
कोरोना संक्रमणमुक्त भएको लामो समयसम्म पनि धेरैले बीमा दावी भुक्तानी नपाएको ब्यापक गुनासो आएपछि समितिले ७ दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको हो ।
समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
बीमा रकम नपाएको व्यापक गुनासो आएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा छलफल गरी एक हप्ताभित्र बीमा रकम पाउने व्यवस्था गराउन, त्यसको अनुगमन गर्न र भुक्तानीको दैनिक प्रतिवेदन मन्त्रालयमा पठाउन निर्देशन दिनुभएको छ ।
यसैगरी कोरोना बीमा दाबी भुक्तानी सम्बन्धमा सेवाग्राहीबाट आएका गुनासोको सुनुवाइका लागि बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेस्क स्थापना गर्न पनि निर्देशन दिइएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।
बीमा समितिले ५ सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो ।
सामूहिक बीमा गर्दा भने बीमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । तर, धेरैलाई कोरोना संक्रमण भएपछि भुक्तानी गर्न नसकिने भन्दै बीमा कम्पनीहरुले पोलिसी खारेज गर्न समितिलाई सुझाएका थिए । अहिले बीमा कम्पनीले अर्बौको भुक्तानी नदिई रोकेर राखेका छन् ।
शुरुमा कोरोना पोजिटिभ आउनेबित्तिकै एक लाखको बीमा गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भर्पाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ
प्रतिक्रिया