Main News

कालापानी र सुस्ताबाहेकका सीमा क्षेत्रका विषयमा वार्तामा बस्न भारत सकारात्मक

हिमालय टिभी
२०७७ कार्तिक १८ गते १२:४५
कालापानी र सुस्ताबाहेकका सीमा क्षेत्रका विषयमा वार्तामा बस्न भारत सकारात्मक

१८ कात्तिक, २०७७ काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ ।

नेपालले अगष्ट महिनामा बैठक गर्नका लागि प्रस्ताव गरे पनि मिति भने तय भइसकेको छैन । वार्ताका लागि नेपालले दुईवटा मिति प्रस्ताव गरेको छ ।

भर्जुअल बैठकको मोडालिटीको बारेमा कुराकानी भइरहेको बुझिएको छ । नेपालको प्रस्तावलाई भारतले अध्ययन गरिरहेको र आगामी नोभेम्बर महिनामा नै बैठक गर्न भारत तयार भएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

बैठकमा कालापानी र सुस्ताको विषयमा भने छलफल हुने छैन । दुवै देशका नापी विभागले नेतृत्व गर्ने सो बैठकको म्यान्डेट प्राविधिक विषय हल गर्ने भएकाले कालापानी र सुष्ताका विषयमा छलफल नहुने भएको हो ।

सुस्ता र कालापानीको विषयमा विदेश सचिवले कुराकानी गर्ने र अन्य ठाउँका प्राविधिक विषय बीडब्लुजीले हेर्ने सहमति दुई देशबीच भएको छ ।

यसैबीच एक वर्षदेखि अवरुद्ध नेपाल–भारत औपचारिक राजनीतिक र कूटनीतिक संवाद पनि शुरु हुने भएको छ । मंसिर महिनाभित्रै परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक बोलाउने तयारी गरिएको छ ।

आलोपालो प्रचलनअनुसार यसपटकको बैठक नयाँदिल्लीमा हुनेछ । मन्त्रीस्तरीय बैठकपछि परराष्ट्र सचिवस्तरीय बैठकको पनि टुंगो लाग्ने छ । एक वर्षदेखि परराष्ट्रसचिवस्तरीय बैठकका लागि कूटनीतिक च्यानलमा छलफल भए पनि टुंगो लागेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *