Main News

नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार हुँदै (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १६ गते २०:३१
नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार हुँदै (भिडियोसहित)

१६ कात्तिक, २०७७ बाँके । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापी दिएर उपचार गर्न थालिएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा २२ र मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा ११ जना गरी अहिलेसम्म बाँकेमा ३३ जनाको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।

कोरोना संक्रमणबाट सिकिस्त बिरामीलाई चिकित्सकको सिफारिसमा प्लाज्मा थेरापी दिएर उपचार गर्न थालिएको हो । कुनै रोगविरुद्ध प्रतिरोधी क्षमता एन्टिबडी विकास भएका व्यक्तिको रगतको प्लाज्मा अर्को बिरामीको शरीरमा पठाएर रोगविरुद्ध लड्न सक्ने बनाउने उपचार विधि हो प्लाज्मा थेरापी ।

कोरोना संक्रमणबाट अक्सिजनको मात्रा ९३ प्रतिशतभन्दा कम भएर सास फेर्न गाह्रो भएका र शरीरका अन्य अंग फेल हुने अवस्थामा पुगेका बिरामीलाई पनि यो विधिबाट बचाउन सकिन्छ । जिल्ला प्रशासन कार्यालय , भेरी अस्पताल, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीबीच समन्वय गरेर प्लाज्मा दाता खोज्ने, एन्टिबडी जाँचेर सिकिस्त बिरामीलाई प्लाज्मा दिइ उपचार गरिन्छ ।

कोरोनामुक्त व्यक्तिले २८ दिनपछि प्लाज्मा दान गर्न मिल्छ । प्लाज्मा दिनु भन्दा पहिले शरीरमा एन्टिबडी विकास भए नभएको पत्ता लगाउन एन्टिबडी परीक्षण गरिन्छ । एन्टिबडीको मात्रा बढी भएका दाताबाट प्राविधिकले रगत निकालेर ब्लड बैंकमा रहेको कम्पोनेन्ट मेसिनको सहयोगबाट प्लाज्मा छुट्याउँछन ।

प्लाज्मा थेरापीबाट उपचार गर्दा बिरामीलाई बढी फाइदा देखिएकाले पछिल्ला दिनमा प्लाज्माको माग बढेको छ । दशैंका बेला सिकिस्त भएका बिरामीलाई भेरी अस्पताल नेपालगन्जका प्रमुख डाक्टर प्रकाश थापा आफैँले प्लाज्मा दिनुभएको थियो ।

प्लाज्मा मान्छेको रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । प्लाज्माले रोगसँग लड्ने क्षमता बढाउन सहयोग गर्छ । प्रभावकारी देखिएपछि देशैभरका प्रमुख अस्पतालमा पनि प्लाज्मा थेपारीको विधिबाट उपचार भइरहेको छ ।

पछिल्ला दिनमा संक्रमितमा लक्षण देखिने र सिकिस्त बिरामी आउने क्रम बढ्दै गएपछि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने क्रम बढ्दो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *