Political Hightlights

कर्णालीमा हुन लागेको मन्त्रिपरिषद पुनर्गठन रोकियो

हिमालय टिभी
२०७७ कार्तिक १६ गते १४:४८
कर्णालीमा हुन लागेको मन्त्रिपरिषद पुनर्गठन रोकियो

१६ कात्तिक, २०७७ सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन रोकिएको छ । आज मन्त्रिपरिषद पुनर्गठनको तयारीमा लागेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी केन्द्रको निर्देशन अनुसार रोक्नुभएको हो ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको हो ।

आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले हिजो नै प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको थियो । तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको बुझिएको छ ।

एक पटक सामाजिक संजालमा मन्त्री छोडेको आशय व्यक्त गरेका सामाजिक विकास मन्त्री दल रावलले पछि पोष्ट हटाउनुभएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ ।

नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गर्नुभएको थियो ।

सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भैसक्नुभएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्