सडक निर्माणमा हेला गरेको भन्दै स्थानीयले गरे चक्काजाम

हिमालय टिभी
२०७७ कार्तिक १४ गते १६:३९
सडक निर्माणमा हेला गरेको भन्दै स्थानीयले गरे चक्काजाम

१४ कात्तिक, २०७७, पथलैया । वीरगञ्ज सिक्स लेन सडक बनाउने क्रममा जीतपुरलाई हेला गरिएको भन्दै स्थानीयले चक्काजाम गरेका छन् ।

उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै पथलैया–वीरगञ्ज सडक खण्डमा चक्काजाम गरेका हुन् ।
शुरुमा जीतपुरका घर टहरा नहटाइएकाले सडक निर्माणले गति नलिएको भन्ने गरेको तर घर टहरा हटाइसकेपछि सडक निर्माणमा बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

सडक निर्माणका क्रममा जीतपुर–सिमरा उपमहानगरपालिका–७ जीतपुरलाई हेला र बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन् । युवा व्यवसायी राजुराज गिरीले जीतपुर बजार क्षेत्रमा सडक बनाउने काम अघि नबढेकोले धुलो उडेर सास्ती बेहोर्नु परिरहेकाले विरोध प्रदर्शन गरेको बताउनुभयो ।

‘जीतपुर बाहेकका ठाउँमा काम भइरहेको छ । जीतपुरको सडकलाई भने छुँदा पनि छुँदैनन् ।’ उहाँले भन्नुभयो ‘ सडक विस्तारका लागि भनेर प्रहरी प्रशासन लगाएर घर टहरा भत्काइयो, त्यसपछि सडक बनाउनुपर्दैन ? चाडवाडको समयमा पसलमा धुलो मात्रै आइरहेको छ ।’

सडक आयोजना कार्यालय, नगरपालिका र ठेकेदारको लापरबाहीले गर्दा आफूहरु मर्कामा परेको अरोप उहाँले लगाउनुभयो । ‘ सडक विस्तारका लागि भनेर पहिले घर टहरा तोडियो, घर टहरा तोडेको पनि दुई वर्ष हुन लागिसकेको छ, बजार क्षेत्रमा कामै गर्दैनन् । सडकमा खाल्डाखुल्डी भएका कारण सवारी दुर्घटना समेत भइरहेको छ ।’

गिरीले भन्नुभयो ‘ धुलो नियन्त्रणका लागि नियमित पानी हाल्नुपर्ने, डाइभर्सन गतिलो बनाउनुपर्ने, बजार क्षेत्रको सडक छिटोभन्दा छिटो बनाउनुपर्ने माग राखेर चक्काजाम गरेका हौं ।’

सिक्स लेन सडक विस्तार आयोजना कार्यालयका ईन्जिनियर सुरेन्द्र साहले कात्तिक १६ गते आइतबारदेखि काम शुरु गरेर ६ महिनाभित्र काम सम्पन्न गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगित गरिएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *