Main News

चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १६:१३
चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी दर्ता

१३ कात्तिक, २०७७ पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न रहेको भन्दै कारवाहीको माग गर्दै नेकपाका नेता एवं पूर्व सभाषद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

चौरसियाको ज्यान गएको सातौ दिनमा सरकारी वकिलको कार्यालय पर्सामार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको हो । सरकारी वकिल कार्यालयमार्फत मृतकका भाइ महेश चौरसियाले जाहेरीसहितको निवेदन दर्ता गराएको पर्सा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

पूर्व सभासद राजकुमार गुप्तालाई घट्नाको मुख्य योजनाकार भनिएको छ । यस्तै हनिश मियाँ, देवा सहनी, चिन्टु तिवारी उत्तम तिवारीविरुद्ध पनि उजुरी दर्ता भएको छ ।

जाहेरी नआए पनि पहिलेदेखिनै अनुसन्धान भैरहेको र सबुत प्रमाणले जे भन्छ त्यसैका आधारमा प्रहरी अघि बढ्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।

कात्तिक ६ गते नेकपाको विन्दबासिनी गाउँकमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा घाइते भएका गाउँ कमिटी सचिव एवं जिल्ला सदस्य मुकेश चौरसियाको उपचारका क्रममा कात्तिक ७ गते निधन भएको थियो ।

त्यसपछि नेकपाको प्रचण्ड र नेपाल समूहले गुप्तासहित विभिन्न व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दिन प्रयास गरेपनि प्रहरीले अस्वीकार गरेको थियो । प्रचण्ड–नेपाल समूहले गुप्तालाई जोगाउन जाहेरी दर्ता नगरेको र त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै दबाब दिएको आरोप लगाउँदै आएको थियो ।

प्रहरीले जाहेरी लिन नमानेपछि सरकारी वकिलमार्फत जाहेरी दर्ता गरिएको हो ।चौरसियाको हत्यामा संलग्नविरुद्ध जाहेरी दर्ताको माग गर्दै एक सातादेखि प्रदर्शन हुँदै आएको छ । आज पनि जिल्ला प्रहरी कार्यालयअगाडि नेकपा पर्साका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *