Main News

प्रतिबन्धित विप्लव समूहका कम्पनी कमिसारसहित दुई जना मोरङबाट हतियारसहित पक्राउ

हिमालय टिभी
२०७७ कार्तिक १३ गते १२:५८
प्रतिबन्धित विप्लव समूहका कम्पनी कमिसारसहित दुई जना मोरङबाट हतियारसहित पक्राउ

१३ कात्तिक, २०७७ मोरङ । नेत्रविक्रम चन्द विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले हतियार र विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे प्रतीक र इलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई सनमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका–१ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् ।

यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरु बसेको ठाउँबा एक थान भरुवा बन्दुक, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र ४ बट्टा बारुद लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *