Main News

अज्ञात समूहद्वारा काठमाडौंको सुन्धारास्थित मस्जिद तोडफोड

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १४:३२
अज्ञात समूहद्वारा काठमाडौंको सुन्धारास्थित मस्जिद तोडफोड

८ कात्तिक, २०७७ काठमाडौं । काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा अज्ञात समूहले तोडफोड गरेको छ ।

शनिबार बिहान अपरिचित समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन । एक सय वर्षभन्दा पुरानो मानिएको यो मस्जिदमा भूमाफियाको तारोसमेत बन्ने गरेको छ ।

निर्माणधिन धरहराको ठीक पछाडी ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ । मस्जिद तोडफोडपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् ।

मस्जिद परिसरमा भेटिनुभएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्न मस्जिद तोडफोड गर्नेे काम गरेको बताउनुभयो । यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताउनुभयो ।

यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका–२२ का वडा सदस्य गीता परियारले वडा अध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको बताउनुभयो ।

यता आजको घटनालाई नेपाल मुस्लिम संघले पनि विरोध गरेको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिम माथिको आक्रमण भएको बताउनुभयो ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् ।

आजभन्दा एक सय वर्ष अघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढने स्थानको रुपमा स्थापित भएको यो मस्जिदमा अहिले ४ प्रहरको नमाज पढ्न मस्लिम समुदाय पुग्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *