Main News

विदेशी च्यानलमा क्लिन फिड लागू, तत्कालका लागि नेपालमा १८० बढी च्यानल बन्द

हिमालय टिभी
२०७७ कार्तिक ८ गते १२:५४
विदेशी च्यानलमा क्लिन फिड लागू, तत्कालका लागि नेपालमा १८० बढी च्यानल बन्द

८ कात्तिक, २०७७ काठमाडौं । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मिति अर्थात गएरातिदेखि क्लिन फिड लागू भएको हो ।

अब विदेशी च्यानल क्लिन फिड विज्ञापनमूक्त भएका छन् । विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ मा विदेशी टेलिभिजन च्यानलमा कात्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

भारतीय ब्रोडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको थियो ।

क्लिन फिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।अब विज्ञापन बजाएमा विदेशी च्यानल बन्द गर्ने कानुनी व्यवस्था छ ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकलाई एक वर्ष समय दिएको थियो । नेपाल केबल टेलिभिजन महासंघका अनुसार अहिले ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुँदैछन् ।

प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १ सय ८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द भएको छ ।टेलिभिजन प्रसारकले प्याकेजमा किन्ने गरेका ९२ च्यानलमध्ये ६० वटा च्यानलले मात्रै अहिले क्लिन फिड च्यानल दिएका छन् ।

जी’का १२ वटा र सोनीका ८ वटा च्यानल क्लिन फिडसहित प्रसारण हुँदैछन् । तर, कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानल तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।

फुटबल, क्रिकेटसहित खेलकूदका च्यानल बन्द भएका छन् । पैसा तिरेर किनिने प्याकेज बाहेकका ‘फ्रि टु एयर’मा सित्तैमा उपलब्ध हुने १ सय २० वटा च्यानल पनि बन्द भएका छन् । भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै बजिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *