Political Hightlights

प्रधानमन्त्री र रअका प्रमुखबीचको गोप्य भेटले नेकपाको राजनीति तरंगीत (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते २०:३३
प्रधानमन्त्री र रअका प्रमुखबीचको गोप्य भेटले नेकपाको राजनीति तरंगीत (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किए । तर उनको भ्रमणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि नयाँ विवाद र हलचल ल्याइदिएको छ । प्रचण्ड र नेपाल पक्षले ओलीले गोयललाई भेटेकोमा आपत्ति जनाएका छन् भने अरु राजनीतिक दल र नागरिकले पनि विरोध गरेका छन् ।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल बुधबार नेपाल आए, बेलुकी दुई घण्टा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे र बिहीबार दिउँसो दिल्ली फर्किए । सुरक्षा स्रोतले पुष्टि गरेपनि सरकार गोयलको भ्रमणबारे मौन रह्यो । र, गोप्यनै राख्यो । सकेसम्म गोप्य नै राख्न खोजिएको र गोयल नेपाल आएकै छैनन् भन्ने प्रयास गरिएको विषय संचार माध्यमले प्रमाणसहित सार्वजनिक गरेपछि प्रधानमन्त्रीको सचिवालय बोल्यो र गोयलले प्रधानमन्त्रीलाई भेटेको पुष्टि गर्यो ।

यतिञ्जेलसम्म अलमलमा रहेका नेकपा नेता कार्यकर्ताले पनि यसबारे बोल्न थाले । प्रधानमन्त्रीले गोयलसँग गोप्य भेट गरेकोमा सत्तारुढ नेकपाको प्रचण्ड र वरिष्ठ नेता नेपालपक्ष असन्तुष्ट छ । नेपाल पक्षले सार्वजनिक रुपमै यसबारे असन्तुष्टि व्यक्त गरेको छ । नेपाल पक्षीय नेता भीम रावलले ट्वीट मार्फत प्रधानमन्त्रीको कदमलाई नेपालको परराष्ट नीति, नेकपाको विचार सिद्धान्त र कूटनीतिक मर्यादाविपरीत भन्नुभएको छ ।

यस्तै नेपाल पक्षीय नेता विजय पौडेलका अनुसार भारतीय गुप्तचर संस्थाका कर्मचारीलाई प्रधानमन्त्रीले भेट्नु लज्जाको कुरा हो ।

प्रचण्ड पक्षीय नेताहरुले यसबारे बोलेका त छैनन, तर प्रचण्डले यसमा गम्भीर आपत्ति जनाउनुभएको छ ।

सबैलाई अन्यौलमा राखेर प्रधानमन्त्रीले के गर्न खोजेको हो भन्ने प्रचण्डको प्रश्न रहेको प्रचण्ड निकट नेताले बनाएका छन् । तर प्रचण्डले यसले आफूलाई फाइदानै भएको बुझ्नुभएको छ । किनकी भारतको यईशारामा चलेको भनेर आरोप लगाउने ओली नै यसपटक एक्सपोज भएको प्रचण्डको बुझाइ छ ।

प्रचण्ड र नेपाल दुवैले आफूले गोयललाई नभेटेको भनेर पनि सार्वजनिक गर्नुभएको छ । ओली पक्षबाटै आफूहरुले भेटेको भनेर प्रचार गरेर आफ्नो भेट लुकाउन खोजिएको र पछि एक्सपोज हुने डरले मात्रै बोलेको प्रचण्ड नेपाल दुवै पक्षको बुझाइ छ ।

नेकपा मात्रै होइन, अरु राजनीतिक दल र नागरिकले पनि प्रधानमन्त्री ओलीले गोयललाई गोप्य रुपमा भेटेकोमा आपत्ति जनाएका छन । साझा पार्टीले रअका प्रमुख र प्रधानमन्त्रीको हैसियत एउटै हो भन्ने प्रश्न उठाएको छ ।

भारतीय नाकाबन्दीको विरोध गरेर राष्टवादी छवि बनाउँदै सत्तामा आएका ओलीमाथि अरु नागरिकले पनि प्रश्न उठाएका छन् । ओलीको बोली र व्यवहार फरक भएको र गोयलसँग गोप्य रुपमा भेटेर कूटनीतिक मर्यादाविपरीत काम गरेको आरोप छ ।

गोयलको नेपाल भ्रमणले अनेकौं प्रश्न उठाएको छ । उनी किन नेपाल आएका हुन ? उनी भारत सरकारले पठाएर आएका हुन् कि नेपाल सरकारले बोलाएको हो ? यति बेलासम्म यो विषय अन्यौलमा छ । किनकी परराष्ट्र मन्त्रालयले यसबारे केही बताएको छैन र स्रोतका अनुसार उ बताउन सक्ने अवस्थामा पनि छैन । किनकी यसको सबै तारतम्य प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीका तर्फबाटै मिलाइएको थियो ।

रअ प्रमुख सामन्तले काठमाडौंमा क–कसलाई भेटे भन्नेबारे पनि परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी दिइएको छैन । केवल एयरफोर्समा आउने टोलीलाई अनुमति दिन मात्रै परराष्ट्रसँग अनुमति मागिएको थियो । तर कोही पनि विदेशीले नेपालमा आएर राजनीतिक भेटघाट गर्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिनै पर्छ । अनुमित नलिई भेट्न मिल्दैन । अनुमति लिएर भेट्दा पनि परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राख्नुपर्छ । तर, यतिबेला यो कूटनीतिक आचारसंहिताको खिल्ली उडाइएको छ ।

गोयलले काठमाडौंमा क–कसलाई भेटे प्रष्ट पारिएको छैन । आफैले कूटनीतिक उडानको अनुमति दिने तर त्यसबारे जानकारी नदिने कसरी हुन सक्छ । यसबारे सरकारले बोल्नैपर्छ, देशलाई जानकारी दिनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्