Main News

विक्रीवितरण खुल्ला भएपनि नेपालमा सहज रुपमा पाइँदैन रेम्डिसिभिर(भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ६ गते २०:२९
विक्रीवितरण खुल्ला भएपनि नेपालमा सहज रुपमा पाइँदैन रेम्डिसिभिर(भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । विश्वभरी नै गम्भीर प्रकृतिका कोभिड संक्रमितको उपचारका लागि रेम्डिसिभिरको प्रयोग भैरहेको छ । नेपाल सरकारले पनि नेपालमा यो औषधिको विक्रीवितरण खुल्ला गरेको छ । तर पनि सहज रुपमा रेम्डिसिभिर उपलब्ध छैन ।

सरकारले असोज ३० गते नागरिकलाई रेम्डिसिभिर औषधि चाहिए,उल्लेखित नम्बरमा फोन गर्नु भन्दै सूचना निकाल्यो । सरकारले नागरिकलाई सहजै रेम्डिसिभिर औषधि उपलब्ध गराउने सूचना निकाले पनि आवश्यक परेका संक्रमितले भने सहजै रुपमा पाएका छैनन् ।

सरकारले नेपालका दुई र भारतका एउटा कम्पनीलाई रेम्डिसिभिर ल्याउन र विक्री वितरण गर्न अनुमति दिएको छ । सरकारले यसको विक्रीवितरण हुने अस्पतालको विवरण पनि सार्वजनिक गरिसकेको छ ।

रेम्डिसिभिर कोरोना संक्रमित निको हुने औषधि भने होइन । तर गम्भिर प्रकृतिका संक्रमितमा रेम्डिसिभिर प्रयोग गर्दा यसको नतिजा भने सकारात्मक आएको छ । सरकार पनि यसको परीक्षणमै छ ।

परीक्षणकै क्रममा भए पनि अहिले नेपालमा गम्भिर प्रकृतिका संक्रमित बढेसँगै रेम्डिसिभिरको माग पनि बढ्दो छ । अहिलेसम्म सरकारले १० हजार भायल रेम्डिसिभिर नेपाल ल्याइसकेको छ । माग बढेसँगै अन्य कम्पनीसँग समन्वय गरी रेम्डिसिभिर ल्याउने तयारी सरकारको छ ।

नेपालमा रेम्डिसिभिर प्रयोगको अनुमति नहुँदा यसको कालो बजारीसमेत भयो । आम नागरिकले तोकिएको भन्दा बढी मूल्य तिरेर पनि रेम्डिसिभिर किने । नेपालमा आएको रेम्डिसिभिरको मूल्य ६ हजार ४ सयदेखि ८ हजार चार सयसम्म छ । अब यो भन्दा कममा पनि रेम्डिसिभिर खरिद गर्न सकिनेछ ।

कोरोना संक्रमणका कारण गम्भिर हुनेको संख्या बढिरहेको छ । र कोभिडको खोप बनिनसकेको अवस्थामा रेम्डिसिभिरको सकारात्मक परिणामले थप आशा थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *