राजनीति

आफ्नै कारण असफल हुँदै सरकारः कोरोनाप्रति गम्भीर नहुँदाको परिणाम (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक ४ गते २०:२७
आफ्नै कारण असफल हुँदै सरकारः कोरोनाप्रति गम्भीर नहुँदाको परिणाम (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै आफैं उपचार गर्न भनेको छ । काठमाडौंमा नै कोरोना संक्रमितले उपचारका लागि बेड पाउन छाडेपछि सरकारले हात उठाएर अब केही गर्न नसक्ने भन्न थालेको छ ।

सरकारका पछिल्ला भनाइले कोरोना झनै भयावह हुँदै गएको पुष्टि हुन्छ । तर कोरोनालाई भयावह बनाउन सरकारकै हात छ । अहिले जे स्थिति आएको छ यसमा सरकार जिम्मेवार छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सरकारका सल्लाहकारका यस अघिका भनाइले नै पुष्टि गर्छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण गत माघमा नेपालमा पनि देखियो चीनसहित अरु देशमा संक्रमण बढ्दो थियो । त्यसैले नेपालमा पनि फैलिन सक्ने भन्दै विज्ञले तयारी गर्न सरकारलाई सुझाव दिँदै आएका थिए ।

संसदमा पनि सांसदले सरकारको ध्यानकर्षण गराइ रहेका थिए । कोरोना रोकथामका लागि तयारी गर भन्ने सांसदलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनमा पानी पर्दा काठमाडौंमा छाता ओढ्नु पर्दैन भनेर संसदमै जवाफ फर्काउनुभयो ।

कोरोना चीनमा देखिएको र नेपाल आउँदैन भनेर सरकार ढुक्क देखिए पनि नेपाल आइछाड्यो । दोश्रो कोरोना संक्रमित भेटिने वित्तिकै सरकारले चैतमा लकडाउन गरी स्वास्थ्य सामग्री किन्ने तयारीमा लाग्यो ।

चैत वैशाख र जेठमा लकडाउन भए पनि संक्रमण रोकिएन । शुरुमा सरकारलाई रोकथामको तयारी गर भन्ने विज्ञहरु अब अस्पताल बनाउ, अस्पतालमा भेन्टिलेन्टर र आइसीयू थप भनेर सुझाव दिँदै थिए । तर सरकारले अस्पताल बनाउनु ठिक हैन खर्च मात्र हुन्छ, विरामी हुँदैनन् जति विरामी हुन्छन् । त्यतिलाई अहिलेकै अस्पतालले धान्छ भन्यो । त्यस्तै मध्येका एक हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रीका विज्ञ सल्लाहकार डाक्टर खेम कार्की ।

सरकार आफैंले नियुक्त गरेका सल्लाहकारको गलत सल्लाह कार्यान्वयनमा लागेको थियो । अरु विज्ञका कुरा सुन्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नै हुनुहुन्थेन । तर पछि धेरै तिरबाट दबाब आएपछि प्रधानमन्त्रीले विज्ञसित सल्लाह त लिनु भयो तर त्यसलाई एउटा कानबाट सुनेर अर्को कानले उडाउनुभयो । बरु कोरोनाले मान्छेको मृत्यु हुँदा पनि प्रधानमन्त्री ती अरु नै रोगले मरेका हुन् । कोरोना रुघा हो । हाँछ्यु गरेर र बेसार पानी खाएर भगाउन सकिन्छ भनेर प्रचारमा लाग्नुभयो ।

देशको मुखिया नै कोरोनाको भ्रममा हुनुहुन्थ्यो । यही भ्रमका कारण सरकारले कोरोनालाई गम्भीर रुपमा लिएन । त्यसैको असर अहिले देखिएको छ । अस्पतलामा कोरोना संक्रमितले बेड नै नपाउने भएपछि सरकार आफ्नो उपचार आफैं गर भनेर पन्छिएको छ ।

घट्नाक्रमले के देखाउँछ भने सरकार कहिल्यै गम्भीर थिएन, त्यसैले नागरिकले पनि त्यसलाई त्यति गम्भीर ढंगले लिएनन, परिणाम सरकारले हात उठाएर नागरिकलाई अलपत्र पार्ने अवस्था सिर्जना भएको छ । र, यसको मुख्यकारण सुझाव सुन्दै नसुन्ने र आफुलाई सर्वज्ञानी ठान्ने प्रधानमन्त्रीको सोच नै हो । किनकी यो सरकार र प्रधानमन्त्रीलाई सुझाव र प्रश्न मन पर्ने गरेको छैन । त्यसैले सरकारलाई दबाब दिनु र सच्याउनु त छँदैछ तर गैरजिम्मेवार सरकारको भर मात्रै नपरी नागरिकले पनि आफ्नो जीवन रक्षाका लागि त्यतिकै गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्