राजनीति

नेकपाको कर्णाली प्रदेश विवाद, बालुवाटार र खुमलटारबीच यस्तो जहारी

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १८:५९
नेकपाको कर्णाली प्रदेश विवाद, बालुवाटार र खुमलटारबीच यस्तो जहारी

४ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशमा देखिएको समस्या कसरी समाधान गर्ने भन्नेबारेमा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच चरम विवाद देखिएको छ ।

ओलीका तर्फबाट विवाद समाधान भएको दावी गरिँदा प्रचण्डका तर्फबाट त्यसको खण्डन भएको छ ।

कर्णाली प्रदेशको विवाद समाधान भएको बालुवाटार औपचारिक दाबी छ । तर, खुमलटारले भने कुनै निर्णय नभएको भन्दै खण्डन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चार बुँदे सहमति भएको भन्दै विवाद मिलेको सन्देश सार्वजनिक गर्नुभएको छ ।

बालुवाटारको प्रेस नोट
सम्माननीय प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहानको भेटघाटमा भएको सहमति निम्नानुसार रहेको जानकारी गराउन चाहन्छु –

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने । र,

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

यसबारेमा आजका कतिपय सञ्चारमाध्यममा आएकोजस्तो गरी छलफल र सहमति नभएको सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

सूर्य थापा, प्रेस सल्लाहकार

४ कात्तिक २०७७

थापाका अनुसार कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, सीता नेपालीलाई प्रमुख सचेतक बनाउने निर्णय बदर गरी सचेतक नै कायम गर्ने, मुख्यमन्त्रीविरूद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय गर्ने सहमति भएको छ ।

थापाले गुलाबजंग शाहलाई हटाउने विषय एक नम्बर र अविश्वास प्रस्ताव फिर्ता गर्ने विषयलाई तीन नम्बरमा राख्नुभएको छ । तर थापाले प्रेस नोट सार्वजनिक गरेर निर्णय भएको दावी गरेपछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले पनि प्रेस नोट जारी गरेर त्यसको खण्डन गर्नुभएको छ ।

सापकोटाका अनुसार ओली र प्रचण्डबीच कुनै सहमति भएको छैन ।छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको सापकोटाको दावी छ ।

खुमलटारको प्रेस नोट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।

उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।

बिष्णुप्रसाद सापकोटा ‘जुगल’
प्रेस संयोजक
अध्यक्ष प्रचण्डका निजी सचिवालय

सापकोटाका अनुसार अरु सबै भ्रम हुन् । ओली र प्रचण्डको सचिवालयबाट सार्वजनिक गरिएका सूचनाले नेकपाभित्रको विवाद थप चर्किने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्