कर्णाली पार्टी विवाद समाधानमा प्रचण्ड र ओलीबीच मत बाझियो
४ कात्तिक, २०७७ काठमाडौं । कर्णाली प्रदेशको विवाद कसरी समाधान गर्ने विषयमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मत बाझिएको छ ।
बालुवाटारमा भएको छलफलमा ओलीले प्रदेशको विवाद माथिबाटै समाधान गर्ने प्रस्ताव गरेकोमा प्रचण्डले त्यसलाई अस्वीकार गरेको बुझिएको छ ।
प्रचण्डले प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षबीच थप विवाद भएको छ । छलफलमा प्रधानमन्त्री ओलीले दुई अध्यक्षले संयुक्त रुपमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन लगाउने र मुख्यमन्त्री शाहीले चालेका कदम पनि फिर्ता लिन आग्रह गर्ने प्रस्ताव गर्नुभएको थियो
तर खुमलटार स्रोतका अनुसार प्रदेशको विवाद बालुवाटारबाट मिलाउन खोज्दा संघीयताको मर्म र भावनाविपरीत जाने भन्दै त्यसो नगर्न प्रचण्डले ओलीलाई आग्रह समेत गर्नुभएको छ ।
कर्णाली प्रदेशका दुवै पक्षसँग ओली र प्रचण्डसहित पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ ।
गत मंसिर २५ गते कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद बल्झिएको छ ।
तत्कालको लागि प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहबीच सहमति भएर नेपाल पक्ष पछि हटेपछि मुख्यमन्त्रीको पद जोगिए पनि विवाद समाधान भने हुन सकेको छैन ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रधानमन्त्री ओली पक्षीय नेता यामलाल कँडेल समूहले माग यथावत् रहेको बताइरहेको छ ।
प्रतिक्रिया